उपमेयर कप पुरुष तथा महिला भलिबलमा आजबाट क्वार्टर फाइनल खेल हुने

जनपत्र
२८ चैत्र २०७९, मंगलवार ०७:३६

हेटौंडा । पाँचौ संस्करणको हेटौंडा उपमहानगरपालिका स्तरीय उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुष तर्फ वडा नम्बर ४, ५, ६, ८, ११, १२, १६ र १९ क्वार्टर फाइनल प्रवेश गरेका छन् ।

सोमबारबाट सुरु भएको प्रतियोगितामा लिग चरण्का खेलहरु सकिदा महिला तर्फ वडा नम्बर २, ६, ९, ११, १२, १४, १७ र १९ नम्बर वडा क्वार्टर फाइनल प्रवेश गरेका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पान्तले स्थित बुद्ध माविको खेल मैदानमा जारी प्रतियोगितामा मंगलबारबाट क्वाटर फाइनलका खेल हुने प्रतियोगिता संयोजक त्रिविक्रम रुपाखेतीले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल २९ गते बुधबार हुने संयोजक रुपाखेतीले बताए ।

प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै उपमेयर बानियाँले नगर क्षेत्रका सबै वडाहरुलाई खेल क्षेत्रको विकासमा विशेष ध्यान दिन आग्रह गरे । शारिरीक, मानसिक र समाजिक विकासमा खेलकुदको ठूलो हात रहेको उल्लेख गर्दे उनले खैल क्षेत्रमा लागेका युवाहरुले देश विकासमा योगदान दिन सक्ने दावी गरे ।

खेल क्षेत्रमा लाग्नेहरु शारिरीक, मानसिक रुपमा तन्दरुस्त र सामाजिक रुपमा सम्मानित हुने भएकाले उनीहरुबाट भावि पुस्ताले धेरै कुरा सिक्न सक्ने उनको भनाई थियो । उपमेयर बानियाँले विकास भनेको भौतिक संरचनाका निर्माणलाई मात्र बुझ्ने परम्पराको अन्त्य गर्नुपर्ने पनि बताए । उनले नगरका सम्पूर्ण वडाहरुलाई खेल क्षेत्रमा लगानी बढाउँन आग्रह गरे ।

केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष राजन दाहाल खुशराज, बागमती प्रदेश खेलकुद परिषदका सदस्य माधव तिमल्सिना, जिल्ला फुटबल संघका महासचिव छवि सुवेदी, १२ नम्बर वडाका कार्यवाहक अध्यक्ष ज्ञानबहादुर श्रेष्ठ, ६ नम्बर वडा अध्यक्ष विष्णुबहादुर दाहाल, १३ नम्बर वडा अध्यक्ष पेम्बा लामा लगाएतको उपस्थिति रहेको थियो ।

केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान, मकवानपुर जिल्ला भलिबल संघ र हेटौंडा उपमहानगरपालिका भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा पुरुष तर्फ १० र महिला तर्फ ९ वटा वडाका सहभागिता रहेको छ । प्रतियोगिताको विजेता र उपविजेता टिमले क्रमशः नगद ५० हजार र ३० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । यस्तै सेमिफाइनल पुग्ने टोलीले पनि १०/१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय सहित ट्रफी प्राप्त गर्दा विधागत उत्कृष्ट खेलाडीहरुले नगद एकहजार ५ सय रुपैयाँ प्राप्त गर्ने संयोजक रुपाखेतीले बताए । प्रतियोगिताको लागि करिब ८ लाख ४६ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताको अघिल्लो संस्करणमा महिला तथा पुरुष दुवैतर्फको उपाधि हेटौंडा १७ नम्बर वडाले जितेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*