जापानको त्यो गोल, जसले जर्मनीलाई फर्कायो घर

जनपत्र
१७ मंसिर २०७९, शनिबार ०८:१४

फिफा विश्वकपअन्तर्गत बिहीबार भएको समूह ईको खेलमा जापानले स्पेनमाथि २–१ को जित हात पार्‍यो। स्पेनलाई पराजित गर्ने निर्णायक गोलको असर भने जर्मनीले खेप्नु पर्यो।

यससँगै जापान समूहको विजेताको हैसियतमा माथिल्लो चरणमा प्रवेश गरेको छ भने चारपटकको विश्वविजेता जर्मनी समूह चरणबाटै बाहिरिएको छ।

कुनै पनि खेलमा हारजित सामान्य हुने भए पनि बिहीबारको जापान र स्पेनबीचको खेलमा दिइएको एक गोलको विषयमा भने अहिले बहस भइरहेको छ। जापानले स्पेनविरुद्ध खेलको ५१ औं मिनेटमा गरेको गोलबारे फरक(फरक प्रतिक्रिया आइरहेका छन्।

खेलको ५१ औं मिनेटमा जापानले गोल लाइन पार गरेर बाहिर जानै लागेको बललाई पुनः मैदानमा फर्काएको थियो र सोही पासमा ओ तानाकाले गोल गरेका थिए। सुरुमा साइड रेफ्रीले पनि गोललाइन पार गरेको भन्दै गोल नभएको संकेत गरे। तर, म्याच रेफ्रीले भिएआरमार्फत यसलाई गोल दिने निर्णय गरे।

किन दिइएको थियो गोल?
यो गोललाई राम्रोसँग बुझ्न सबैभन्दा पहिला गोल किक पाउनेसम्बन्धी फिफाको नियम बुझ्नुपर्छ।

त्यसमा भनिएको छ, ‘गोल किक त्यतिबेला दिइन्छ जतिबेला विपक्षी टोलीका खेलाडीले अन्तिमपटक छोएको बलले पूर्णरुपमा जमिन वा हावामार्फत गोललाइन पार गर्छ र यस्तो अवस्थामा भित्र ल्याइएको बलमा गोल हुन सक्दैन।’

बिहीबारको खेलमा बलले पूर्णरुपमा लाइन पार गरेको थिएन तरु मैदानको एकापट्टीबाट हेर्दा बलले गोल लाइन पार गरेको जस्तो देखिए पनि बलको ठिक माथिको कोणबाट हेर्दा भने बलले पूर्णरुपमा गोललाइन पार नगरेको स्पष्ट देखिन्छ।

केहीले एकातर्फबाट खिचिएको तस्बिर राख्दै यो गोलमा प्रश्न उठाएका छन् भने केहीले अर्कै समयमा गोललाइन पार गरेको बलको तस्बिर राखेर गोलबारे प्रश्न उठाएका छन्। यस विषयमा फिफाले पनि उक्त गोलको भिडियो राख्दै गोल दिइनुको कारण स्पष्ट पारिसकेको छ।

कति महत्वपूर्ण थियो गोल?
स्पेनविरुद्धको खेलमा निर्णायक बनेको उक्त गोल जापानको लागि माथिल्लो चरणमा पुग्नको लागि निकै महत्वपूर्ण थियो। दुई खेलबाट ३ अंक हात पारेको जापानले स्पेनसँग बराबरी खेलेको अवस्थामा उसले ३ खेलबाट ४ अंक हात पार्ने थियो।

यो अवस्थामा गोल अन्तरको आधारमा जर्मनी माथिल्लो चरणमा पुग्ने थियो। यो समीकरण हुँदा स्पेन समूहको विजेता बन्थ्यो र जर्मनी उपविजेता हुने पक्का थियो। तर, जापानले जित हात पार्दा तीन खेलबाट समान ४ अंक हात पारेको स्पेनसँग जर्मनी गोल अन्तरको आधारमा पछि पर्‍यो र समूहचरणबाटै बिदा भयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*