लिभरपुललाई हराउँदै आर्सनल शीर्षस्थानमा, म्यानचेस्टर युनाइटेडले एभर्टनलाई हरायो

जनपत्र
२४ आश्विन २०७९, सोमबार ०७:३१

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुललाई हराउँदै आर्सनल शीर्षस्थानमा उक्लिएको छ। घरेलु मैदान इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा लिभरपुललाई ३-२ गोलअन्तरले हराउँदै आर्सनल शीर्षस्थानमा उक्लिएको हो।

खेलको पहिलो मिनेटमै गाब्रियल मार्टिनेल्लीको गोलमा आर्सनलले अग्रता बनाएको थियो। अर्कोतर्फ ३४ औं मिनेटमा लिभरपुलका डार्विन नुनेजले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। तर, पहिलो हाफको इन्ज्युरी समयमा बुकायो साकाले गोल गर्दै फेरि आर्सनललाई अग्रता दिलाए। दोस्रो हाफमा लिभरपुलका रोबेर्टो फर्मिन्होले खेल बराबरीमा ल्याए। उनले खेलको ५३ औं मिनेटमा डिएगो जोटाको पासमा गोल गरेका थिए। खेल २-२ गोलको बराबरीमा रहेको अवस्थामा घरेलु मैदानमा आर्सनललाई जिताउन बुकायो साकाले निर्णायक गोल गरे। उनले ७६ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गर्दा खेल आर्सनलले ३-२ ले आफ्नो पक्षमा पार्‍यो।

त्यस्तै गएराति नै सम्पन्न प्रिमियर लिगको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई हरायो। एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा सम्पन्न खेलमा युनाइेटले घरेलु टोलीमाथि २-१ गोलको जित निकालेको हो। खेलको पाँचौं मिनेटमै एलेक्स लौउबीको पासमा एभर्टनले अग्रता बनाएको थियो। तर, १५ औं मिनेटमा एन्टोनीले गोल फर्काउँदै युनाइटेडलाई बराबरीमा ल्याए। त्यसपछि कासेमिरोको पासमा क्रिस्टियानको रोनाल्डोले ४४ औं मिनेटमा गोल गर्दा युनाइटेडले २-१ गोलको जित निकाल्न सफल भयो। योसँगै रोनाल्डोले ७ सय क्लब गोल पुरा गरेका छन्।

योसँगै ९ खेलबाट २४ अंक जोडेको आर्सनल तालिकाको शीर्षस्थानमा छ भने २३ अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो र २० अंक जोडेको टोटेनहम हट्सपर तेस्रो स्थानमा छन्। जितसँगै १५ अंक जोडेको युनाइटेड पाँचौं स्थानमा छ भने समान १० अंक जोडेको लिभरपुल १० औं र एभर्टन १२ औं स्थानमा छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*