हामी एक छौँ, ओलीको कदमले एकतामा तात्त्विक असर गर्दैन : अध्यक्ष प्रचण्ड

जनपत्र
६ पुष २०७७, सोमबार १२:५६

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताबद्ध रहेको दाबी गर्नुभएको छ ।

सोमबार विज्ञप्ति निकालेर प्रचण्डले संसद विघटन गरी मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले पार्टी एकतामा तात्त्विक असर नगर्ने दाबी गर्नुभएको हो । अध्यक्ष प्रचण्डले पार्टी एकतालाई कमजोर बनाउनेहरुविरुद्ध एकताबद्ध भएर उभिन सबैलाई अपील समेत गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टीपङ्क्ति र आम जनसमुदायलाई के तथ्य स्पष्ट पार्न चाहन्छु भने हाम्रो पार्टी एकताबद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यस प्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्त्विक असर पर्ने छैन ।’

उहाँले कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन नसक्ने दाबी गर्नुभएको छ । अध्यक्ष प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार भएको उल्लेख गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डले कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि सबैलाई आग्रह गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*