दामनको रिसोर्टमा आठ जना मृत्युः बीच बाटोमै छुटे केरलाबाट सँगै आएका साथी

जनपत्र
७ माघ २०७६, मंगलवार १८:००

मकवानपुरको उत्तरी क्षेत्र पालुङ। दुई दिनयता राम्ररी घाम लागेको थिएन। हरेक दिन बिहान तुसारो परिरहेको थियो।
समुद्री सतहबाट २४०० सय मिटरमा पर्ने थाहा नगरपालिका ४ सिमभञ्ज्याङमा चिसो अत्यधिक थियो।

सोमबार बेलुका ९ बजे एभरेष्ट रिसोर्ट पानोरमामा बास बस्न पन्ध्र जना भारतीय पर्यटक आइपुगे। दामनका एक(दुई दिन घुम्ने योजनामा भारतीय पर्यटक रिजर्भ बसमा आएका थिए। केरलाबाट काठमाडौं र त्यहाँबाट पोखरा घुमेका उनीहरू दामन पुगेका थिए।
ना४ क ३६८८ नम्बरको पर्यटक गाडी लिएर उनीहरू पोखरा हुँदै दामन पुगेका थिए। त्यो गाडी उनीहरूले काठमाडौंबाटै लिएर गएको बुझिएको छ।

रिसोर्ट पुगेपछि उनीहरूले चार वटा कोठा बुक गरे। दामन प्रहरीका प्रहरी सहायक निरीक्षक गणेश थापाका अनुसार ११, १२, १३ र १४ नम्बर कोठा उनीहरूले बुक गरेका थिए।

कोठा बुक गरेर खानपिन गर्न थाले। १३ र १४ नम्बर बुक गरेकाहरू खाना खाएर सुत्न गएका थिए। वडाध्यक्ष दीपकसिंह लामाका अनुसार दुई परिवारका सदस्य ११ र १२ नम्बर रूममा बस्ने निधो थियो।

११ र १२ नम्बर रूममा दुई पुरूष, दुई महिला, दुई बालक र दुई बालिका बस्ने टुंगो थियो। त्यही भएकाले अन्य सात जना १३ र १४ नम्बर कोठामा गए।

बालबच्चासहित उनीहरू ११ बजेतिर कोठामा छिरेका पनि थिए। तर, ओछ्यान चिसो रहेको भन्दै रेस्टुरेन्टमा फर्किए। आठै जना ११ नम्बर कोठामा बस्ने सल्लाह गरे।

वडाध्यक्ष लामाका अनुसार पालुङमा जाडोयाममा सुरक्षित बासको व्यवस्था गर्ने सन्दर्भमा होटलमा ‘इलेक्ट्रिक बेड’ राख्ने चलन छ। ११ र १२ नम्बर रूममा ‘इलेक्ट्रिक बेड’ थिए।

‘१३ र १४ मा रहेका ‘इलेक्ट्रिक बेड’ ताते भन्दै सात जना गएर सुते, बेड नतातेको भनेर आठ जना निकै समय बसे। हिटर मागे,’ लामाले भने।

उनका अनुसार बेड नतातेको भन्दै दुई पुरूषले एक बोतल ह्वीस्की लिए। आधा पिए। ‘परिवारसहित साढे १ बजेतिर कोठा छिरेछन्,’ रिसोर्टका कर्मचारीलाई उद्धृत गर्दै वडाध्यक्ष लामाले भने, ‘कोठामा पुगेपछि फेरि रेस्टुरेन्ट फर्केछन्।’

ओछ्यान नतातेको र बालबच्चालाई सुत्न कठिन हुने भन्दै उनीहरूले कर्मचारीलाई हिटर मागे। कर्मचारीले हिटर दिन आनाकानी गरे। तर, पर्यटकले जोडबल गरेपछि ग्यास हिटर लगिदिए।

कोठाका झ्यालढोका सबै बन्द गरेर हिटर बालेका आठै जना एउटै कोठाका दुई बेडमा सुते। ‘हामीले अबेर दुई बजेसम्म गेस्टलाई सर्भिस दिएर सुत्न गयौं,’ कर्मचारीलाई उद्धृत गर्दै लामाले भने।

रात बित्यो। बिहान रिसोर्टका कर्मचारी काममा फर्किए। ९ बजे चिया लिएर कर्मचारी १३ र १४ नम्बर कोठामा गए। आठ जना सुतेको ११ नम्बर कोठा नखुलेको सुनाए। त्यसपछि १३ र १४ नम्बर कोठाका पर्यटक आएर जोडले ढोका धकेल्दा भित्र आठै जना बेहोस थिए।

कोठा तातै थियो। मान्छे पनि तातै थिए। तर, कसैको होस् थिएन।होटलका कर्मचारीले प्रहरीलाई खबर गरे। खबर प्रहरी कार्यालय मकवानपुर हुँदै इलाका प्रहरी कार्यालय पालुङमा खबर पुग्दा निकै अबेर भइसकेको थियो।

प्रहरीसँगको सहकार्यमा काठमाडौंबाट हेलिकप्टर मगाए। हेलिकप्टरमा दुई पटक गरेर काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइएका आठै जनाको मृत्यु भइसकेको थियो। ‘झ्याल,ढोका थुनेको कोठामा हिटर बालेर सुतेका उनीहरू निसास्सिए बेहोस् भएछन्,’ वडाध्यक्ष लामाले भने।

मृत्यु हुने सबै केरलाका छन्। उनीहरू एकै परिवार र नाताभित्रका रहेको देखिएको मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताए। ‘हामी अनुसन्धान गरिरहेका छौं, उनीहरू एकै परिवारका रहेको बुझिएको छ,’ राठौरले भने।

मृत्यु हुनेमा ३८ वर्षीय रन्जित कप, ३४ वर्षीया इन्द्र, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभि, ७ वर्षीया अर्चना, ५ वर्षीय वैशनव र ९ वर्षीया बन्द्रा रहेका छन्। मृतक सबैको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

पालुङ घुमेर काठमाडौं हुँदै भारत फर्किने योजना बनाएका उनीहरूको असावधानी ज्यान गयो। न बाबुआमा रहे, न छोराछोरी। सँगै आएका अन्य सात जना आफन्तको मृत्युको शोक बोकेर मंगलबारै काठमाडौं फर्किएका छन्। सेतो पाटीबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*