बागमती प्रदेशमा मानव अधिकार उल्लङ्‌घनका घटना बढ्दाे

सरिता दाहाल
१ माघ २०७६, बुधबार १०:४८

बागमती प्रदेशमा गत वर्ष (सन् २०१९) मानव अधिकार उल्लङ्‌घन तथा ज्यादतिका घटना बढेको पाइएको छ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती कार्यालयले यस्तो तथ्याङ्‌क सार्वजनिक गरेको हो। सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्म सङ्‌कलित मानव अधिकार उल्लङ्‌घनका घटनाको प्रारम्भिक प्रतिवेदनमा १ हजार ५ सय ७१ वटा मानव अधिकार उल्लङ्‌घनका घटना भएको उल्लेख छ।

इन्सेक बागमती प्रदेश कार्यालयका कार्यक्रम संयोजक गणेश भण्डारीले अघिल्लो वर्षभन्दा गत वर्ष यस्ता घटना बढेको बताए। उनका अनुसार २०१८ मा जम्मा ७ सय ६३ वटा मात्रै यस्ता घटना सार्वजनिक भएका थिए।

बागमती प्रदेशमा सबैभन्दा बढी काठमाडौंमा मानव अधिकार उल्लङ्‌घनका घटना भएको प्रतिवेदनमा उल्लेख छ। काठमाडौंमा ७ सय ३० वटा मानव अधिकार हननका घटना भएको पाइएको छ।

यसैगरी, ललितपुरमा १ सय ३० वटा, चितवनमा १ सय ७, काभ्रे १ सय ३, सिन्धुली सय, सिन्धुपाल्चिोक ८१, भक्तपुर ६०, धादिङ ४१, रसुवा १४, रामेछाप ३०, दोलखा २९ र मकवानपुरमा ४८ वटा मानव अधिकार उल्लङ्‌घन तथा ज्यादतिका घटनाको तथ्याङ्‌क सङ्‌कलन भएको भण्डारीले जानकारी दिए।

प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा प्रदेशसभा सदस्य मुनु सिग्देलले इन्सेकले सङ्‌कलन गरेको घटनाको दायरालाई फराकिलो बनाएर लैजानुपर्ने बताइन्। स्थानीय तहमा न्यायिक समिति गठन भएको र अब पीडितहरू सुरुमा स्थानीय तहकै न्यायिक समितिमा पुग्ने भएकोले उनीहरूले न्यायिक समितिबाट के-कति न्याय पाउँछन् भन्नेतर्फ पनि इन्सेक केन्द्रित हुनुपर्ने उनले बताइन्।

बागमती प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक किशोर दाहालले सार्वजनिक घटनाको सङ्ख्याले प्रदेशमा अपराध बढेको नभइ आम मानिस हिंसाविरुद्ध न्याय खोज्दै आउन थालेको बताए।

प्रहरीबाट मानव अधिकार उल्लङ्‌घन हुन नदिन विशेष निर्देशन दिने गरेको र हरेक प्रहरी जवानलाई यसबारे प्रशिक्षण र सचेतना गराउँदै आएको दाहालले बताए। यस्तै न्युनतम बल प्रयोग गरी भीड नियन्त्रण गर्ने उपाय अवलम्बन गर्ने गरेको बताए।

मानव बेचबिखन तथा मानव ओसारपसारविरुद्धको सञ्जालकी संयोजक आरती पाठकले स्थानीय तहमा स्थापना भएका सेफ हाउस, बाल सुधारगृह तथा न्यायिक समितिहरुसम्म पुगेर मानव अधिकारको अवस्थाको बारेमा तथ्याङ्‌क सङ्‌कलन गर्न सुझाव दिइन्।

इन्सेकले मानव अधिकार उल्लङ्‌घन तथा ज्यादतिका घटनाहरू सङ्‌कलन गरेर वर्ष पुस्तक प्रकाशन गर्ने गरेको इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले जानकारी दिए।  नेपाल न्युजबाट । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*