प्रदेश ३ को राजधानी काभ्रे बनाउन विवेकशील साझाको प्रस्ताव

जनपत्र
२६ पुष २०७६, शनिबार १३:४५

मकवानपुर / विवेकशील साझा पार्टीले प्रदेश ३ को राजधानी काभ्रेको धुलिखेल बनाउन प्रदेशसभामा प्रस्ताव गरेको छ। विवेकशीलले पेश गरेको प्रदेशको राजधानी प्रस्तावमा प्रदेशका १३ जिल्लाका बासिन्दाहरुलाइृ पहुँचका हिसाबले काभ्रेको धुलिखेल नै पायक पर्ने उल्लेख छ। सांसद रमेश पौड्यालले पेश गरेको प्रस्तावमा शोभा शाक्य र विराजभक्त श्रेष्ठ समर्थक रहेका छन्।

सत्ताधारी नेकपाले भने प्रदेशको नाम बाग्मती र स्थायी राजधानी मकवानपुरको हेटौंडा नै कायम गर्ने पक्षमा सहमति कायम गरिसकेको छ। नेपाली कांग्रेसले पनि हेटौंडालाई नै प्रदेश राजधानी बनाउने पक्षमा मतदान गर्न ह्वीप नै जारी गरेको छ। नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० र विवेकशील साझाले भने प्रदेशको नाम बाग्मती बनाउने प्रस्तावमा सहमति जनाउँदै राजधानीबारे आज आधिकारिक धारणा राख्‍ने बताएका थिए। प्रदेश९३ को राजधानी र नामका विषयमा शुक्रबार साँझ हेटौँडामा सर्वदलीय बैठकमार्फत सहमति भईसकेको छ।

बैठकबाट सकेसम्म एउटा मात्र स्थायी राजधानीको नाम हेटौँडा र एउटा मात्र प्रदेशको नाम वाग्मती रहने विषयमा छलफल भएको थियो। छलफलमा नेकपाका मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता डोरमणि पौडेल र उपनेता एवं प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, कांग्रेसका दलका नेता इन्द्र बानियाँ, राप्रपा संयुक्तका रीना गुरुङ, राप्रपा का रीता माझीले राजधानी हेटौँडा र नाम वाग्मतीमा सहमति जनाएका थिए।

प्रदेशसभा सचिवालयले प्रदेशको स्थायी राजधानी र नामको प्रस्ताव दर्ता गर्न शनिबार बिहान ९ देखि ११ बजेसम्म समय तोकेको छ। शुक्रबार प्रदेशसभा बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको स्थायी राजधानी तोक्नेसम्बन्धी कार्यविधि २०७६ को अनुसूची १ बमोजिमको ढाँचामा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले सिफारिस गरेको जिल्लामध्येबाट प्रदेशको राजधानीसम्बन्धी प्रस्ताव दर्ता गर्न र प्रदेशको नामकरणसम्बन्धी कार्यविधि २०७६ को अनुसूची १ बमोजिमको ढाँचामा प्रदेशको नामकरणसम्बन्धी प्रस्ताव दर्ता गर्न समय प्रदान गरेका हुन्।

कार्यविधिअनुसार एक प्रदेशसभा सदस्य प्रस्तावक र दुई जना समर्थक रहेर राजधानी र नाम छुट्टाछुट्टै प्रस्ताव दर्ता गराउन पाउनेछन्। दर्ता भएको प्रस्तावबारे शनिबारै छलफल हुनेछ। बैठकको अन्त्यमा सभामुखले प्रदेशको स्थायी राजधानी र नाम टुंगो लगाउन मतदानको मिति र समय घोषणा गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ। आइतबारै स्थायी राजधानी र नाम टुंगो लगाउन मतदान गर्ने प्रदेशसभा सचिवालयको तयारी छ। प्रस्ताव निर्णयार्थ पेस भएपछि प्रदेशसभा सदस्यले वर्णानुक्रमअनुसार ‘हुन्छ’ र ‘हुँदैन’ भन्ने दुई लाइनमा दस्तखतसहितको मतविभाजनपछि मतपरिणाम घोषणा हुनेछ। राजधानी टुंगो लागेपछि सोही विधिद्वारा नाम टुंगो लगाइनेछ। थाहा खवरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*