मकवानपुरको राक्सीराङमा सांसदलाई डोकोमा गाग्री बोकाएर खानेपानी माग

जनपत्र
२१ कार्तिक २०७६, बिहीबार ०७:४६

मकवानपुर / सामान्यतया कुनैपनि कार्यक्रमका प्रमुख तथा अन्य अतिथिलाई विशेष सम्मान दिईन्छ । उनीहरुलाई स–सानो कुराको पनि असहज होस् भनेर खुबै ध्यान दिईन्छ ।

सरकारी उच्च पदधारीसँग माग गर्दा ज्ञापनपत्र बुझाउँने र धर्ना बस्ने गरिन्छ । तर चेपाङ्ग बाहुल्य पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिकाबासीले भने अनौठो तरिका अपनाएका छन् ।

कार्यक्रम थियो, जनज्योति प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण । स्थान थियो, राक्सिराङ ८, महांकाल । प्रमुख अतिथि थिए प्रदेश नम्वर ३ का सांसद सन्तबहादुर चेपाङ, विशेष अतिथि राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, ८ नम्बर वडा अध्यक्ष रामकृष्ण प्रजा तथा अतिथिहरु राक्सिराङ ९ नम्बर वडा अध्यक्ष रामकुमार थिङ, नेपाली काँग्रेसका पूर्व जिल्ला सभापती रघुरमण न्यौपाने र नेकपा राक्सिराङका अध्यक्ष हस्तबहादुर मुक्तान लगायत ।

आसनग्रहण पछि विद्यालय उद्घाटन हुने धेरैको अपेक्षा थियो । तर कार्यक्रम संचालकले भने, ‘अब प्रमुखसहित सबै अथिती ज्यूहरुले तल राखिएको पानी भरिएको गाग्रीसहितको डोको बोकेर कार्यक्रम स्थलसम्म ल्याउन अनुरोध गर्दछु ।’

अतिथिहरुदेखी स्थानीयबासी समेत मुखामुख गरे । त्यसपछि करिव एक सय मिटर टाढा राखिएको गाग्रीसहितको डोको पाँच जना अतिथिले बोके र कार्यक्रमस्थल पुगे । सहभागी स्थानीयवासीले हाँस्दै ताली बजाएर स्वागत गरे ।

दुई घण्टाको पैदल दुरीमा रहेको बैद्यखोलाको पानी बोकेर खानेपानीको रुपमा प्रयोग गर्नु पर्दा निक्कै समस्या रहेको राक्सिराङ ८, महांकालकी ६५ वर्षिया राममायाँ तितुङले बताईन् । चाडपर्वमा विशेषगरी पानीकै चिन्ताले महिलाहरुलाई सताउने स्थानीय कान्छीमायाँ तितुङले बताईन् । ‘पाहुँना आउँदा झनै पानीकै समस्या पर्छ,’ उनले भनिन्, ‘त्यस्तो वेला १०–१२ गाग्री आवश्यक पर्छ, बाख्रा, भैसी पाल्न पनि कठिन छ ।’

सांसद चेपाङसहित सबै अतिथिलाई गाउँ र विद्यालयमा खानेपानीको चरम समस्या जानकारी गराउन सांकेतिक रुपमा गाग्री बोकाएको विद्यालयका अध्यक्ष जयबहादुर तितुङले बताए । ‘हामीले दिनहुँ डोकोमा पानी बोकेर पिउन र गाईबस्तुलाई खुवाउन बाध्य छौ’, उनले भने, ‘पानीको विकराल समस्या समाधानका लागि पाहुनाहरुलाई गाग्रीको डोको बोकाएका हौ ।’ लगत्तै सांसद चेपाङ र गाउँपालिका अध्यक्ष मल्ललाई टोड्के–जाब्राङ टोल विकास संस्थाले खानेपानी समस्या समाधान गरिदिन छुट्टा–छुट्टै ज्ञापनपत्र पनि बुझाए ।

महांकाल, टोड्के र जाब्राङका करिव एक सय ५० घरधुरीले दुई घण्टा उकालो÷ओरालो हिडेर बैद्यखोलाको पानी प्रयोग गर्न बाध्य छन् । गाग्रीभरि पानीसहितको डोको बोकेका अतिथिहरुले खानेपानीको समस्या चालू आर्थिक बर्षमै समाधान गरिदिने प्रतिबद्धता जनाए ।
मुहान तल र बस्ती माथि डाँडामा भएकाले खानेपानी ल्याउन कठिन भएपनि पहिलो प्राथमिकता दिएर काम गर्ने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।

‘हामी तत्काल यहाँ सर्भे गराउँछौ,’ उनले भने, ‘सोलार पम्पीङका लागि प्रदेश सरकारले १३ करोड रुपैंया छुट्याएको छ, हामी तत्काल पहल गर्छौ ।’ खानेपानीका लागि यसअघि प्रदेश सरकारमा पहल गरेकाले प्रक्रियामा रहेको भन्दै सांसद चेपाङले पुनः सरकार र सम्बन्धित मन्त्रालयमा ध्यानाकर्षण गराउँने बताए । आजको नागरिक दैनिकमा अशोक सुजन श्रेष्ठले लेखेको समाचार हामिले साभार गरेका हौं ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*