काठमाण्डौका नामुद २५ जुवाडेको भाइटीका थुनामै
काठमाण्डौ – काठमाण्डौको महाराजगञ्जबाट आइतबार २ करोड ६७ लाख रुपैयाँ नगदसहित पक्राउ परेका २५ जना जुवाडेलाई थुनामा राख्ने÷नराख्ने निर्णय भाइटीकाको भोलिपल्ट बुधबार मात्रै हुने भएको छ ।
महाराजगञ्जको पिपलमार्गबाट झण्डै ३ करोड रुपैयाँसहित पक्राउ परेका २५ जनालाई प्रहरीले सोमबार अदालत पुर्याए पनि समय अभावका कारण उनीहरुबारेमा सुनुवाइ हुन नपाएकाले फेरि महाराजगञ्ज प्रहरी वृत्तकै हिरासतमा फर्काएको प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश लम्सालले जानकारी दिनुभयो ।
उनीहरुको परिवारले आइतबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेपछि सोमबार उनीहरुलाई अदालतमा उपस्थित हुन अदालतले आदेश दिएको थियो । सोमबार दिउँसो ३ बजेअघि नै उनीहरुलाई अदालतमा उपस्थित गराउनुपर्ने भए पनि प्रहरीले साढे ३ बजेतिर मात्र उनीहरुलाई अदालत पु¥याएको थियो ।
शनिबार राति पिपलमार्गमा रहेको विक्रम गौतमको दुई तले घरको भुइँ तल्लामा जुवा खेलिरहेका २५ जनालाई दुई करोड ७२ लाख रुपैयाँ नगद, ३ लाख रुपैयाँको चेक, ३२ ओटा कौडा र ४ बुक ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका जुवाडेहरुमा बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजवंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ रहेका छन् । यसैगरी पक्राउ पर्नेमा हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा पनि रहेका छन् । उज्यालो अनलाईनबाट साभार ।







