मकवानपुरको वकैयाका द्वन्द पीडितको पीडाः खुसी खोसियो, कोख रित्तियो

कृष्णउदास खनाल
६ कार्तिक २०७६, बुधबार १४:०१

मकवानपुर /उमेरले छ दशक काटेको छ,आफ्नै घर पनि बिस्तारै बिरानो हुँदैछ । बुढेशकाल लाग्दैछ । घर खरले छाएको छ,भित्ता माटोले लिपिएको छ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ९ का ६१ बर्षीय भीम बहादुर रखाल सुस्केरा हाल्दै घरको पिँडीमा थ्याथ्च बस्छन् उनकी ६० बर्षीया पत्नी बर्तमायाँ घर नजिकैको खोरमा रहेको बाख्रालाई घाँस हाल्न जान्छिन् । तत्कालिन बिद्रोही माओवादीले संचालन गरेको सशस्त्र युद्धका क्रममा भीम बहादुरले दुईभाइ छोरा गुमाउनु भएको हो ।

जेठा छोरा अर्जुनको त पत्तो नै लागेको छैन । २०५७ सालमा शादा पोशाकमा खटिएका प्रहरीले बल खेल्नेक्रममा रौतहटबाट अर्जुनलाई पक्राउ गरेर बेपत्ता बनाएका हुन् । अर्जुनको बिषयमा उनलाई केही थाहा छैन । अर्जुनकी छोरी ऊ बेलामा दुई बर्षकी थिइन् अहिले १९ बर्षीकी भइन् । कान्छो छोरा डिल बहादुर भने २०६० सालतिर सिराहामा भिडन्तमा मारिएको पार्टीका मान्छे(तत्कालिन माओवादी)का कार्यकर्ताहरुले भीमलाई जानकारी गराएका छन् ।

डिल बहादुरको पनि शव उनले पाएनन् । काजक्रिया दुबै छोराको गरेका छैनन् । छोराहरुको अभावमा बाँच्नै गाहे भएको उनीहरुले पीडा पोखे । अहिले हिजो युद्ध गरेकै पार्टी सरकारमा भएपनि आफूहरुलाई कहिल्यै नहेरेको देख्दा आफूहरुलाई पनि मारिदिने हुन्थ्यो जस्तो लागेको भीम बहादुरको भनाइ छ ।

पढाइ रोकियो

अर्जुन रखाललाई प्रहरीले पक्राउ गरी बेपत्ता बनाउदा उनकी छोरी लक्की जम्मा दुई बर्षमा थिइन् अहिले उनी १९ बर्षमा पुगेकी छन् । बुवाको नाउमा राज्यले दिएको दश लाख मध्य केही रकम खर्च गरेर उनले कक्षा १२ सम्मको पढाइ सकेकी छन् । अब पैसा नभएका कारण पढ्न नपाएको लक्कीले नेपाल समाचारपत्रसँग गुनासो गर्नुभयो । कमाउने,संरक्षण गर्ने बावु नै नभएपछि आफ्नो पढाइ रोकिएको उहाँ बताउनुभयो । अर्जुनकी पन्ती पद्मा रानाले रौतहटको चपुरमा सानो पसल संचालन गर्नु भएको र सोही पसलबाट आएको आम्दानीले आफूहरुको गुजारा चलेको लक्कीको भनाइ छ ।

अर्को दर्दनाक कथा

द्वन्द हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ मा बस्दै आउनु भएका पद्मजन्ग थापाको पनि घर उजाडिएको छ । उहाँको पनि दुई भाइ छोरा माओवादी आन्दोलनमा लागेका क्रममा मारिएका छन् । पद्मको जेठो छोरा राजुलाई २०५८ सालमा सेनाले नियन्त्रणमा लिएर मकवानपुरकै बकैयामा गोलीहानी हत्या गरेको हो भने साइलो छोरा भजन बन्दीपुरमा भिडन्तमा परेर मारिनु भएको हो । पद्मको घरमा पुग्दा उहाँ छतमा बसेर कुर्दै हुनुन्थ्यो ।

कुरा शुरु भएपछि उहाँको आँखामा अबिरल बलिन्द्र धारा आँशु झरिरहेको थियो । उहँको एकमात्रै भनाइ थियोःप्रचण्ड र ओलीहरुले पनि आफूहरुलाई बिर्से । हिजो युद्धका क्रममा गरेको बाचाहरु सरकारमा पुगेपछि तत्कालिन माअ‍ोवादीले बिर्सिएको भन्दै पद्मले रुदै आफ्ना पीडा नेपालसमाचारपत्रसँग पोख्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*