देउवा समूहको बागमती भेलाको माग : महासमिति बैठक तत्काल बोलाऊ, परामर्शबिना गरिएका मनोनयन खारेज गर

जनपत्र
३१ बैशाख २०८३, बिहीबार ०७:१४

नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको बागमती प्रदेशस्तरीय भेलाले पार्टीको बृहत्तर एकता र पुनर्जागरणका लागि तत्काल पूर्ण महासमितिको बैठक बोलाउन माग गरेको छ ।

भेलाले वर्तमान सरकार निरंकुशतातर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै पार्टीभित्र नेतृत्वले गरेका स्वेच्छाचारी निर्णय, कारबाही र एकलौटी मनोनयन तत्काल रोक्न नेतृत्वलाई चेतावनीसमेत दिएको हो ।

विदेशमा उपचाररत कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको शीघ्र स्वास्थ्यलाभको कामना भेलाले गरेको छ । विभिन्न क्षेत्रका स्थापित व्यक्तित्व तथा पार्टी नेतृत्वमाथि पर्याप्त कानुनी विधि र प्रक्रिया पूरा नगरी प्रतिशोधपूर्ण रूपमा गरिएको धरपकडप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विधिको शासन सुदृढ बनाइनुपर्नेमा जोड दिइएको छ ।

पार्टीभित्रको आन्तरिक सङ्कट समाधान गर्न र आगामी राजनीतिक दिशा तय गर्न शीघ्र पूर्ण महासमितिको बैठक आयोजना गर्नुपर्ने भेलाको मुख्य माग छ । आगामी १५औँ महाधिवेशनलाई पारदर्शी, निष्पक्ष र सर्वस्वीकार्य रूपमा सम्पन्न गर्न सबै पक्षको सहभागिता सुनिश्चित हुने गरी सहमतिको साझा संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिइएको छ ।

राष्ट्रिय सभामा दलको नेता परिवर्तन गरिएको विषयमा उठेका प्रश्नलाई ध्यानमा राख्दै उक्त निर्णयको कारण, प्रक्रिया र औचित्य पारदर्शी रूपमा स्पष्ट गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराइएको छ । प्रतिशोधको भावनाबाट प्रेरित निर्णयले पार्टीको एकता र सहकार्यमा समस्या सिर्जना गर्ने भेलाले औँल्याएको छ । भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई तदर्थवादमा अल्झाउने र विघटन गर्ने प्रवृत्ति अन्त्य गरी नियमित महाधिवेशनमार्फत नेतृत्व चयन गर्न माग गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*