हेटौंडामा पाँचदिने निःशुल्क योग विज्ञान शिविर हुने
मकवानपुर । महिला पतञ्जलि योग समिति मकवानपुरको आयोजनामा हेटौंडामा पाँचदिने निःशुल्क वृहत् योग विज्ञान शिविर सञ्चालन हुने भएको छ । “गरौं योग, रहौं निरोग” भन्ने मूल नारासहित आगामी जेठ ३ गतेदेखि ७ गतेसम्म हेटौंडा–४ स्थित लोकतान्त्रिक चौर (हुप्रचौर) मा शिविर आयोजना गर्न लागिएको हो ।
शिविर प्रत्येक दिन बिहान ४ः३० बजेदेखि ६ः३० बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रम महिला पतञ्जलि योग समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ को संयुक्त आयोजनामा हुन लागेको जनाइएको छ ।
समितिका अनुसार २०६४ सालदेखि मकवानपुरका विभिन्न स्थानीय तहमा निःशुल्क योग शिविर सञ्चालन गर्दै आएको पतञ्जलि योग समिति अहिले पनि “घरघरमा योग, जनजनमा योग” अभियानमार्फत नागरिकलाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गरिरहेको छ । योग, ध्यान, प्राणायाम तथा प्राकृतिक जीवनशैलीमार्फत नसर्ने रोग न्यूनीकरण, सकारात्मक सोच विकास र स्वस्थ समाज निर्माणमा संस्था सक्रिय रहेको जनाएको छ ।
शिविरमा महिला पतञ्जलि योग समिति नेपालकी अध्यक्ष पूज्य साध्वी देवादिति मुख्य प्रशिक्षकको रूपमा रहने कार्यक्रम संयोजक राजन थापाले जानकारी दिए । उनका अनुसार साध्वी देवादितिले पतञ्जलि योगपीठ हरिद्वारबाट सन्यास ग्रहण गरी योग, आयुर्वेद, प्राकृतिक चिकित्सा तथा संस्कृतिको क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आउनुभएको छ ।
समितिले पछिल्लो समय नसर्ने रोग, मानसिक तनाव र अस्वस्थ जीवनशैलीका समस्या बढ्दै गएको भन्दै योगलाई स्वस्थ जीवनको प्रभावकारी माध्यमका रूपमा प्रस्तुत गरेको छ । योगले शारीरिक स्वास्थ्य मात्र नभई मानसिक शान्ति, सकारात्मक चिन्तन र अनुशासित जीवनशैली निर्माणमा सहयोग पुग्ने विश्वास आयोजकको छ ।
कार्यक्रमलाई सफल बनाउन हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ ले सहकार्य गरेको छ भने थर्ड आइ एजुकेशनल सेन्टर प्रालिले सहप्रायोजन गरेको जनाइएको छ ।
शिविरमा योग अनुरागी, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, व्यवसायी, सञ्चारकर्मी तथा सर्वसाधारणलाई सक्रिय सहभागिताका लागि आयोजकले आग्रह गरेका छन् ।
नगर अध्यक्ष रघु आचार्य, युवा अध्यक्ष जयराम पुलामी, जिल्ला अध्यक्ष रामकृष्ण थापा तथा महिला अध्यक्ष शशिकला थापाले शिविरलाई भव्य र सभ्य रूपमा सफल बनाउन सबैको साथ र सहभागिता आवश्यक रहेको बताएका छन् ।







