सामुदायिक विद्यालयकी मेधावी छात्रा रुबिना श्रेष्ठले ल्याइन् SEE मा ४.० जीपीए
काठमाडौं । धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका–२ स्थायी घर भई हाल काठमाडौंस्थित श्री ज्ञानोदय माध्यमिक विद्यालय मा अध्ययनरत रुबिना श्रेष्ठले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) मा ४.० जीपीए प्राप्त गर्न सफल भएकी छन् । सामुदायिक विद्यालयबाट अध्ययन गर्दै उत्कृष्ट नतिजा ल्याएकी रुबिनाको सफलताले सार्वजनिक शिक्षाप्रति नयाँ आशा जगाएको छ ।
इन्जिनियर विष्णुलाल श्रेष्ठ र रत्नकुमारी श्रेष्ठकी छोरी रुबिनाले कक्षा ५ सम्मको अध्ययन धादिङको श्री नलाङ पात्ले माध्यमिक विद्यालय बाट पूरा गरेकी हुन् । त्यसपछि थप अध्ययनका लागि काठमाडौं आएकी उनले अंग्रेजी माध्यममा पढाइ हुने ज्ञानोदय माध्यमिक विद्यालयमा भर्ना हुन प्रारम्भमा संघर्ष गर्नुपरेको बताएकी छन् ।
गाउँको विद्यालयमा नेपाली माध्यमबाट अध्ययन गरेकी रुबिनाले प्रवेश परीक्षाका क्रममा अंग्रेजी प्रश्नपत्र नेपालीमा अनुवाद गरेर परीक्षा दिन पाएको अनुभव सुनाउँदै विद्यालय प्रशासन र शिक्षकहरूप्रति आभार व्यक्त गरिन् । “भाषाभन्दा पनि विद्यार्थीको क्षमता र शैक्षिक स्तरलाई प्राथमिकता दिइनु सकारात्मक पक्ष हो,” उनले भनिन् ।
यस वर्ष ज्ञानोदय माध्यमिक विद्यालयबाट SEE परीक्षामा सहभागी ४३८ विद्यार्थीमध्ये २१ जनाले ४.० जीपीए प्राप्त गरेका थिए । ती उत्कृष्ट विद्यार्थीमध्ये रुबिना पनि एक हुन् ।
सादा जीवन र उच्च विचार मन पराउने रुबिना नम्र, अनुशासित तथा मृदुभाषी स्वभावकी विद्यार्थीका रूपमा परिचित छन् । उनलाई पर्यटन तथा भ्रमणमा विशेष रुचि रहेको परिवारजनले बताएका छन् ।
रुबिनाका बुबा इन्जिनियर विष्णुलाल श्रेष्ठ स्वयं पनि सामुदायिक विद्यालयबाट अध्ययन गरी सफल बनेका व्यक्ति हुन् । उनले सन् २०१७ मा सिभिल इन्जिनियरिङ स्नातक तहमा ३.९७ सीजीपीए ल्याई प्रतिष्ठित SCAEF अवार्ड प्राप्त गरेका थिए । रुबिनाले आफ्ना बुबाको प्रेरणा र मार्गनिर्देशनले अध्ययनमा निरन्तर मेहनत गर्न ऊर्जा दिएको बताइन् ।
उनका अनुसार सामाजिक सञ्जाल, मोबाइल, टेलिभिजन तथा प्रविधिको सीमित र उचित प्रयोग गर्दै नियमित अध्ययन गरेकाले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको हो । “नियमित पढाइ, ध्यान केन्द्रित गरेर अध्ययन गर्ने, साथीहरूसँग स्वस्थ प्रतिस्पर्धा गर्ने र बुझेर पढ्ने बानीले सफलता मिल्यो,” रुबिनाले भनिन् ।
भविष्यमा डाक्टर वा इन्जिनियर बनेर देश र जनताको सेवा गर्ने लक्ष्य लिएकी रुबिना नेपालमै बसेर केही गर्नुपर्ने सोच राख्छिन् ।
उनको सफलताले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पनि महँगो निजी विद्यालय बिना मेहनत र लगनशीलताबाट उत्कृष्ट नतिजा हासिल गर्न सकिने प्रेरणा दिएको छ ।







