हावाहुरी, असिना र वर्षाले हेटौंडामा तरकारी महँगियो, किसानको बारीमै नोक्सानी

जनपत्र
२२ बैशाख २०८३, मंगलवार ०८:५५

हेटौंडा । लगातारको हावाहुरी, असिना र वर्षाका कारण मकवानपुरको हेटौंडा बजारमा तरकारीको मूल्य बढ्न थालेको छ । खेतबारीमा लगाइएका मौसमी तथा बेमौसमी तरकारीमा प्राकृतिक विपद्को असर परेपछि बजारमा आपूर्ति घट्दा मूल्यवृद्धि भएको हो ।

पछिल्ला केही दिनयता परेको असिना, हावाहुरी र अविरल वर्षाले किसानको बारीमै तयार अवस्थामा रहेका गोलभेँडा, काँक्रा, बोडी, करेला, भिण्डी, सागसब्जी लगायतका तरकारीमा ठूलो क्षति पुगेको मकवानपुरको हाँडीखोलाका किसान श्याम घिमिरेले बताए ।

हेटौंडा आसपासका कृषि क्षेत्रका किसानका अनुसार असिनाले तरकारीका बोटमा प्रत्यक्ष क्षति पुर्याएको छ भने लगातारको पानीले बारीमा पानी जम्दा बाँकी रहेका तरकारीसमेत कुहिन थालेका छन् । यसले उत्पादन घटाएर बजार आपूर्तिमा असर पुर्याएको हो ।

स्थानीय किसानहरुले मौसमको प्रतिकूलताका कारण एक सातामै ठूलो नोक्सानी व्यहोर्नुपरेको बताएका छन् । उत्पादन घटेपछि व्यापारीहरुले पनि तरकारीको मूल्य बढेको बताएका छन् ।

हेटौंडा बजारमा केही दिनअघिसम्म प्रतिकिलो ५० रुपैयाँमा पाइने गोलभेँडा अहिले ८० रुपैयाँ पुगेको छ । काँक्रा, बोडी, करेला, भन्टा र हरियो सागको मूल्यमा पनि प्रतिकिलो २० देखि ३० रुपैयाँसम्म वृद्धि भएको व्यवसायीहरुको भनाइ छ ।

व्यवसायीहरुका अनुसार स्थानीय उत्पादन घटेपछि बाहिरबाट तरकारी ल्याउनुपरेको र ढुवानी खर्च बढ्दा मूल्य थप महँगिएको हो । नेपालभर नै पछिल्लो समय तरकारी बजारमा मूल्य अस्वाभाविक रूपमा बढिरहेको तथ्यांकले पनि देखाएको छ ।

किसानहरुले मौसमजन्य विपद्बाट बारम्बार क्षति व्यहोर्नुपर्दा उत्पादन लागतसमेत उठाउन समस्या भएको गुनासो गरेका छन् । असिना र हावाहुरीले तरकारी बालीमा ठूलो क्षति पुर्याउने क्रम नेपालका विभिन्न जिल्लामा पनि देखिएको छ ।

कृषि प्राविधिकहरुले मौसममा आएको अस्थिरताले तरकारी उत्पादनमा प्रत्यक्ष असर पार्ने र त्यसको प्रभाव बजार मूल्यमा देखिने बताएका छन् । उनीहरुले किसानलाई जलनिकास व्यवस्थापन, प्लास्टिक टनेल संरक्षण र वैकल्पिक खेती प्रणाली अपनाउन सुझाव दिएका छन् ।

यता उपभोक्ताहरु भने दैनिक उपभोग्य तरकारी महँगिँदा घरखर्च धान्न थप समस्या भएको बताउँछन् । बजारमा मूल्यवृद्धि हुँदा यसको प्रत्यक्ष मार उपभोक्तामाथि परेको छ भने किसानले उत्पादन गुमाएर दोहोरो पीडा भोगिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*