मकवानपुरमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु, पाँच जना घाइते

जनपत्र
४ बैशाख २०८३, शुक्रबार १६:५९

मकवानपुर । मकवानपुरका विभिन्न स्थानमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

हेटौंडाबाट फुर्केचौरतर्फ जाँदै गरेको ना ३९ प ३७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०३–००५ प ७२१९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा मकवानपुर बागमती गाउँपालिका–६ बस्ने ४० वर्षीय अन्तबहादुर बि सी र हेटौंडा–१८ बस्ने ३५ वर्षीय राजु थिङ घाइते भएका छन्। उनीहरूको खुट्टा, मुख तथा टाउकोमा चोट लागेको छ र अवस्था मध्यम रहेको छ। यस्तै, अर्को मोटरसाइकल चालक हेटौंडा–१८ का ३८ वर्षीय सुर्यमणी खतिवडा गम्भीर घाइते भएका छन् भने १०–१२ वर्षका प्रशान्त वाइबा सामान्य घाइते भएका छन्।

उक्त दुर्घटनामा घाइते एक पुरुषको उपचारका क्रममा दिउँसो हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै मोटरसाइकल प्रहरी चौकी ठुलोदमारको नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यसैबीच, दोस्रो दुर्घटना आजै मकवानपुरको बागमती गाउँपालिका–७ पाथिभरा स्थित मदन भण्डारी लोकमार्गमा भएको हो। हेटौंडाबाट ताप्लेजुङतर्फ जाँदै गरेको प्र ३–०१–०२३ च ३०८१ नम्बरको कारले सडक किनारमा रोकिराखिएको ना २ ह ४५९२ नम्बरको अटोलाई ठक्कर दिँदा दुर्घटना भएको हो। ठक्करपछि दुवै सवारी साधन सडकको नालिमा खसेका थिए।

अटोमा सवार बागमती–७ की ४० वर्षीया चिनी माया रुम्बा गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइए पनि दिउँसो चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा अटो चालक बागमती–८ बस्ने २५ वर्षीय यमन राई र अटोमा सवार ११ वर्षीय सुबिन पुलामी मगर घाइते भएका छन्। उनीहरूको अवस्था क्रमशः सामान्य र मध्यम रहेको छ र चुरेहिल अस्पताल, मकवानपुरमा उपचार भइरहेको छ।

कार चालक काठमाडौं गोकर्णेश्वर–६ बस्ने ३५ वर्षीया सुजना लामा भने सकुशल रहेको र उनलाई इलाका प्रहरी कार्यालय फापरवारीको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ। दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*