ओली पक्राउको विरोधमा हेटौंडामा एमालेको प्रदर्शन, सिडियोमार्फत सरकारलाई ज्ञापनपत्र

जनपत्र
१५ चैत्र २०८२, आईतवार १७:०३

हेटौंडा । केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेका जनवर्गीय संगठनहरूले हेटौंडामा पनि प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।
एमाले पार्टी कार्यालयबाट निकालिएको विरोध र्यालीले बजार परिक्रममा गरेर जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाइएको हो ।

आइतबार हेटौंडास्थित जिल्ला प्रशासन कार्यालय पुगेर एमालेका केन्द्र, प्रदेश, जिल्ला स्तरका नेता–कार्यकर्ता तथा जनवर्गीय संगठनका प्रतिनिधिहरूले विरोध र्‍यालीसहित प्रदर्शन गरेका हुन्। प्रदर्शनपछि उनीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै अध्यक्ष ओलीको पक्राउप्रति आपत्ति जनाएका छन्।

प्रदर्शनकारीहरूले राजनीतिक प्रतिशोधका आधारमा गरिएको पक्राउ तत्काल खारेज गर्न माग गर्दै लोकतान्त्रिक अधिकारको सम्मान गर्न सरकारसँग आग्रह गरेका छन्। उनीहरूले शान्तिपूर्ण रूपमा र्‍याली निकाल्दै प्रशासन कार्यालय अगाडि केही समय नाराबाजी समेत गरेका थिए।

यसअघि शनिबार हेटौंडामा एमाले कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका थिए। देशव्यापी रूपमा पार्टीका विभिन्न जनवर्गीय संगठनहरूले जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउने कार्यक्रमअन्तर्गत मकवानपुरमा पनि उक्त कार्यक्रम सम्पन्न भएको हो।

गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा भएको दमनको विषयलाई लिएर समेत एमालेले सरकारको आलोचना गर्दै आएको छ। सोही घटनासँग जोडेर अध्यक्ष ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि एमालेले विरोधका कार्यक्रमलाई तीव्र बनाएको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*