अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा हेटौंडामा अन्तरक्रिया

जनपत्र
२५ मंसिर २०८२, बुधबार १६:५८

हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौंडा, गैरसरकारी संस्था महाँसंघ नेपाल बागमती प्रदेश, लगायतका संघसंस्थाको आयोजनामा अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा हेटौंडामा अन्तरक्रिया कार्यक्रम गरिएको छ । मानव अधिकार र आम निर्वाचनका विषयमा पनि छलफल गरिएको छ । कार्यक्रममा बागमती प्रदेशका उपसभामुख अप्सरा चापागाईंले मानव अधिकारको रक्षा गर्नु सबैको कर्तव्य भएको बताइन ।

मानव अधिकार उलंघनका घटना धेरै भएकाले यसतर्फ सरोकारवालाहरुले चासो दिनुपर्ने बताइन । कार्यक्रममा बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बाबुराम अधिकारी, इन्सेक बागमती प्रदेशका प्रमुख शिव प्याकुरेल, गैरसरकारी संस्था महासंघ बागमती प्रदेशका कार्यबाहक अध्यक्ष कमल कुमार विस्वकर्मा, जिल्ला अध्यक्ष रमिला सापकोटा लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रममा बागमती प्रदेशका बिभिन्न मन्त्रालय र मकवानपुर जिल्ला स्तरका विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईंएको हो । सन् १९४८ मा संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको मानव अधिकारको विश्वव्यापी घोषणापत्र को स्मरणमा हरेक वर्ष डिसेम्बर १० तारिखमा यो दिवस मनाउने गरिन्छ । घोषणापत्रले जाति, धर्म, लिङ्ग, भाषा, विचार, सामाजिक मूल वा जन्मका आधारमा कुनै भेदभाव नगरी सबैलाई समान अधिकार सुनिश्चित गरेको छ । यसअघि हिजो मानव अधिकार रक्षकहरुको अन्तर्राष्ट्रिय दिवस मनाइएको थियो ।

नेपालको संविधानले विचार र अभिव्यक्तिको स्वतन्त्रता, स्वतन्त्रतापूर्वक भेला हुन पाउने स्वतन्त्रता र सङ्गठन खोल्न पाउने स्वतन्त्रताको अधिकारको सुनिश्चितता गरेको छ । नेपाल सरकारले मानव अधिकारकर्मीको सुरक्षा र संरक्षण गर्नेसम्बन्धी आदेश, २०७७ समेत जारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*