हेटौंडामा फोरजी उद्घाटन्, मुख्यमन्त्री र प्रधानमन्त्री बिच भिडियो कुराकानी
नेपाल टेलिकमको फोर जी सेवा देशका ३२ जिल्लाका ५० भन्दा धेरै शहरमा सुरु भएको छ । काठमाण्डौको एक होटलमा सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो च्याट गरेर प्रधानमन्त्रीले फोर जी विस्तारको सुरुवात गर्नुभयो ।
यसका लागि सात वटै प्रदेशमा कार्यक्रम भएको थियो । काठमाण्डौबाट प्रधानमन्त्री र सात प्रदेशबाट मुख्यमन्त्री लाइभमा जोडिएर अलिअलि त कुरा गर्नुभयो । तर प्रविधिले साथ दिएन ।
भिडियो च्याटमा प्रधानमन्त्रीले सोध्नुभयो : आवाज आयो ?
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिनुभयो : झ्यारझ्यार आएको छ ।
त्यसपछि प्रधानमन्त्रीले भन्नुभयो, ‘आज आवाज नआए पनि केही भएन, सुरुवात हो, अब बिस्तारै राम्रो होला ।’

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गुच्चाको युगबाट “फोरजी” को युगमा प्रवेश गर्न पाएकोमा खुशी लागेको बताउनुभएको छ ।
आज प्रदेश ३ को राजधानी हेटौंडामा नेपाल टेलीकमको “फोरजी” सेवा सुभारम्भको अवसरमा बोल्दै मुख्यमन्त्री पौडेलले विगतमा बालबालिकाहरुले गुच्चा खेलेर दिन विताएको स्मरण गर्दै आजका बालबालिकाहरु मोवाइल मार्फत फोरजी चलाउने अवस्थामा पुगेको बताउनुभयो ।
पौडेलले आफूले एउटा चिठी तीन चार दिन सम्म हिडेर पु¥याउनु पर्ने तथा हुलाक मार्फत हप्तौ लगाएर चिठी पत्रको आदान प्रदान गर्नुपर्ने अवस्था भोगेको बताउदै निवेदन हालेर वर्षौ कुरेर टेलीफोनको लाइन जोड्दा संसार जितेको जस्तो अनुभूति समेत गरेको विगत स्मरण गराउनुभयो । प्रविधिले मानव समाजलाई “एड्भान्स” बनाएको भन्दै सेवा प्रदायक संस्थालाई आजबाट सुरु भएको सेवालाई संवेदनशील भएर सञ्चलन गरेर सेवाग्राहीलाई सहज सेवा दिन अनुरोध गर्नुभयो । मुख्यमन्त्री पौडेलले फोरजी सेवाले नेपाली समाजलाई अगाडि बढाउन मद्धत राख्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल टेलिकमका क्षेत्रीय निर्देशक अमर नाथ झाको सभाध्यक्षतामा भएको कार्यक्रममा ३ नम्बर प्रदेशका प्रमुख सचिव तोयम राय, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, प्रदेश नम्बर ३ का प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शेरबहादुर बस्नेत, पुरानो गोरख गण सुपारेटारका गणपति अनिष बुढाथोकी, मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंह, शसक्त प्रहरी १४ नम्बर गणका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विकास घिमिरे, विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । नेपाल टेलिकमले ठूला र साना गरी २६ शहरमा बुधबारबाट एकै साथ फोरजी सेवा शुभारम्भ गरेको छ ।







