खेल क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा छ : मुख्यमन्त्री लामा

जनपत्र
१० फाल्गुन २०८१, शनिबार ०७:३५

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले खेल क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन् । बनेपाको बुडोलमा १६ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद महोत्सवको उद्घाटन गर्दै उनले यसअघिका सरकारले खेलकुद क्षेत्र प्राथमिकतामा नपरेको स्वीकार गर्दै अहिले प्रदेश सरकारले पूर्वाधार विकासमा जोड दिएको बताएका हुन् ।

मुख्यमन्त्री लामाले स्वस्थ जीवनयापनसँगै देशको पहिचानको लागि समेत खेल महत्त्वपूर्ण रहेको बताए । खेलले अनुशासन सिकाउँदै प्रतिस्पर्धी भावना जागृत गराउने बताए ।

शुक्रबारदेखि सुरु भएको उक्त प्रतियोगिताको काभ्रेका विभिन्न स्थानीय तहका खेलाडी सहभागी छन् । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १३ स्थानीय तहमध्ये १२ स्थानीय तहको प्रतिनिधित्व रहेको छ । स्थानीय स्तरमा भएका प्रतियोगितामा उत्कृष्ट भएका विद्यालय तथा विद्यार्थीहरू राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी रहेका छन् ।

प्रतियोगितामा भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, एथ्लेटिक्स अन्तर्गतका हाइजम्प, लङजम्प, सटपुट, त्रिपल जम्प, ज्यावलिङ थ्रो, दौड, रिले दौड लगायतका विभिन्न विधामा प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर वाइवाले जानकारी दिए । उनका अनुसार तेमालबाहेक १२ स्थानीय तहका विभिन्न विद्यालयका करिब ७ सय विद्यार्थी सहभागी छन् ।

प्रतियोगिता फागुन ९, १० र ११ गते बनेपा र पनौतीमा सञ्चालन हुनेछ ।  जिल्ला स्तरीय खेल प्रतियोगितामा प्रथम हुन सफल खेलाडीहरू प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पाउने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*