मकवानपुरका तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै

जनपत्र
१७ माघ २०८१, बिहीबार ०८:४९

हेटौंडा । आज माघ शुक्ल प्रतिपदाको दिन मकवानपुरका तामाङ समुदायले हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका सहित दश वटै स्थानीय तहमा बिबिध कार्यक्रम गरेर यो पर्ब मनाउन लागिएको हो ।

भूमिपूजा, कूलपूजा एवम् दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ ।

समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व मकवानपुरका विभिन्न ठाउँमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्पराअनुसार मनाउँछन् ।

तामाङ समुदायको बाहुल्य रहेको बाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*