हेटौंडामा मनाइयो शहिद दिवस
हेटौँडा । बागमती प्रदेश सरकारले सहिद दिवसको अवसरमा बुधवार विशेष कार्यक्रम सम्पन्न गरेको छ । हेटौँडा–११ स्थित सहिद स्मारकमा प्रदेश सरकारको आयोजनामा सहिद मनाइएको हो।
प्रदेश सरकारको आयोजना तथा सहिद स्मारक विकास समितिको व्यवस्थापनमा र्याली सहित भएको उक्त समारोहमा समारोहमा प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाको प्रमुख आतिथ्य रहेको थियो भने प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, सभामुख भुवनकुमार पाठक, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको विशेष आतिथ्यता रहेको थियो ।
प्रदेश प्रमुख देवकोटाले बागमती प्रदेश सरकारद्वारा आज हेटौंडामा सहिद दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै मुलुकको स्वतन्त्रता र प्रजातन्त्रको पुनस्थापनाको लागि सहिदहरुले गरेको त्याग, तपस्या र आर्दशको मुल्यलाई सबैले आत्मसात गर्नुपर्नेमा जोड दिए ।
राजनीतिक दलहरुले आफ्नो सत्तास्वार्थको लागि मात्र नभई जनताको मानव अधिकारको संरक्षण एवम् शान्तिसुरक्षाको बारेमा सोच्नुपर्ने उनको भनाई छ । उनले राष्ट्रलाई बाह्य शक्तिको चलखेलबाट जोगाउन राजनीतिक नेतृत्वले सहिदहरुले देखाएको मार्गचित्रको मूल्यलाई उपेक्षा नगरी राष्ट्रको सार्वभौम प्रजातन्त्रको सुदृढिकरण गरी जनतालाई आर्थिक समृद्धितर्फ डोर्याउनुपर्ने बताए ।
यस्तै, सो अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले सहिदहरुले राणा शासनको विरुद्धमा गरिएको त्याग र तपस्यालाई राजनीतिक दलहरुले उपेक्षा गर्नु नहुने उल्लेख गरे । उनले मुलुकलाई दिगो शान्ति, आर्थिक समृद्धि र प्रदेशमा सुशासन ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
उक्त अवसरमा बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठक र बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले राष्ट्रको स्वतन्त्रताको साथै जनतामा निहित सार्वभौम सत्तालाई अक्ष्क्षुण राख्न सहिदहरुको योगदानलाई आत्मसम्मान गर्नुपर्नेमा जोड दिए । सबै एकजुट हुन सकेमा मात्रै देशमा सुशासन र प्रजातन्त्रको संस्थागत विकासमा गतिशीलता ल्याउन सकिने उनीहरुको भनाई छ ।
कार्यक्रम सहिद दिवस मुल समारोह समितिका अध्यक्ष एवम् प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेको सभाध्यक्षतामा भएको हो ।







