संसदमा राष्ट्रपति सवारीको रिहर्सलमा जे देखियो
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल संसद भवन पुग्ने तोकिएको समय मंगलबार अपराह्न तीन बजे हो, तर उनकै शैलीमा बिहानै अर्का एक युवक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा देखापरे ।
ती युवक राष्ट्रपतिको सवारीकै शैलीमा संसद भवन छिरे । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले उनलाई पुष्पगुच्छाले भव्य स्वागत गरे ।
ती युवकका लागि रातो कार्पेट बिच्छ्याइएको थियो । उनले संसद भवन पुगे लगत्तै नेपाली सेनाको सलामी पनि खाए । त्यसपछि सभामुख र राष्ट्रियसभा अध्यक्षले संयुक्त सदनको बैठक बस्ने कार्यकक्षमा लगे ।
रोष्ट्रममा उनी उभिँदा सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायत सुरक्षा अधिकारीहरु पनि उभिए ।
केहीबेरमा युवक निस्किए ।
यो मंगलबार नै हुने राष्ट्रपति रामचन्द्र पौडेलको संसदमा हुने सवारीको रिहर्सल हो ।
दौरा सुरुवाल लगाएर राष्ट्रपतिको सवारीको रुपमा संसद भवन छिर्ने ती युवक हुन– ‘डमी राष्ट्रपति’, जो राष्ट्रपति पौडेलकै सुरक्षार्थ खटिएका नेपाली सेनाका अधिकृत हुन् ।
संघीय संसद सचिवालय प्रवक्ता एकराम गिरीका अनुसार २०७२ साल आसपासबाट संसदमा राष्ट्रपति जाने दिन सवारी व्यवस्था र स्वागतको तयारीस्वरुप रिहर्सल हुने गरेको छ । उनी भन्छन्, ‘राष्ट्रपतिको उपस्थितिमा हुने र गरिने कार्यमा कुनै त्रुटि नहोस् भनेर व्यवस्थापन अन्तर्गत यस्तो कार्य गर्ने गरिन्छ ।’
राष्ट्रपति पौडेल मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्नका लागि संसद भवन पुग्दैछन् ।
सरकारको नीति तथा कार्यक्रम पेस गर्न वर्षमा एकपटक राष्ट्रपति संसद भवन पुग्ने गर्दछन् । यसका अलावा प्रतिनिधि सभाको निर्वाचन पछिको पहिलो अधिवेशनको पहिलो संयुक्त बैठकमा राष्ट्रपतिले सम्बोधन गर्ने अभ्यास छ ।
संसद सचिवालयका प्रवक्ता गिरी आवश्यकता अनुसार अन्य समयमा समेत राष्ट्रपति संघीय संसदको संयुक्त बैठकमा सम्बोधन गर्न जान सक्ने बताउँछन् ।
मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा रुपान्तरित हुनु अगाडि राष्ट्रप्रमुखको रुपमा राजा थिए । राजतन्त्रात्मक शासन व्यवस्थामा पनि राजाले नै संसदमा नीति तथा कार्यक्रम पेस गर्दथे ।






