‘पशुपतिप्रसाद–२ : भष्मे डन’को बुकिङ खुल्यो, कति पायो शोज ?

जनपत्र
१ कार्तिक २०८०, बुधबार ०६:४१

नेपाली कथानक चलचित्र ‘पशुपतिप्रसाद–२ : भष्मे डन’को अग्रिम टिकट बुकिङ खुला भएको छ । नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सलगायत हलहरूले आजबाट अग्रिम बुकिङ खुला गरेका हुन् ।

क्यूएफएक्सले ‘पशुपतिप्रसाद–२ : भष्मे डन’लाई काठमाडौं उपत्यकामा २६ शोज उपलब्ध गराएको छ । काठमाडौं बाहिर ३६ शोज दिएको छ । क्यूएफएक्सका देशभरका हलमा यो चलचित्रले ६२ शोज पाएको छ ।

वान सिनेमाजले कालीमाटीको हलमा ५ र नयाँ बानेश्वरको हलमा ८ शोज पाएको छ । एफक्यूवमा ९ शोज पाएको छ ।

देशभरका हलमा अहिलेसम्म डेढ सयभन्दा धेरै शोज पाएको छ । “सबै हलले बुकिङ खुला गरिसकेका छैनन्, अझै केही हलले खुलाउनै बाँकी छ,” ‘पशुपतिप्रसाद–२ : भष्मे डन’का निर्देशक दीपेन्द्र के खनालले भने, “बुकिङ खुला गर्न बित्तिकै अग्रिम बुकिङमा उत्साह देखिएको छ । प्राइम टाइमका कतिपय शोज शोल्ड आउट भइसकेका छन् ।”

आक्रामक बुकिङ भएर सँगै रिलिजमा आउने र प्रदर्शन भइरहेका सिनेमामा भन्दा बढी बुकिङ भएको अवस्थामा हलहरूले आफैँ शोज थप्दै जान्छन् ।

चलचित्रमा विपीन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाललगायत कलाकारको अभिनय छ ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । निर्माता पनि उनी स्वयं हुन् ।

चलचित्र ‘पशुपतिप्रसाद २ : भष्मे डन’ यही दसैँको फूलपातीका दिन रिलिज हुँदै छ । नेपाल बाहिर धेरै देशमा यही मितिमा यो चलचित्र रिलिज हुँदै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*