बागमती प्रदेशका मुख्यमन्त्रीले कांग्रेसलाई लगाए मन्त्रालय भागवण्डा
हेटौंडा । बागमती प्रदेशमा गठबन्धन दलहरूबीच मन्त्रालय भागवण्डा लामो समयदेखि अलपत्र रहेकामा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले नेपाली कांग्रेसलाई मन्त्रालय भाग लगाइदिएका छन् ।
बागमती प्रदेशमा गठबन्धन दलबीच मन्त्रालय भागबण्डा नमिल्दा र नेपाली कांग्रेसले मन्त्रीहरूको नाम नदिएपछि सरकार अपूर्ण छ । नेपाली कांग्रेसले ६ वटा मन्त्रालय छोड्न नमान्दा र नेकपा (एकीकृत समाजवादी) ले २ वटा मन्त्रालय मागेपछि भागवण्डा टुंगो लाग्न नसकेको हो ।
आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट निमार्ण गर्नुपर्ने समयमा ५ वटा मन्त्रालयहरू रिक्त भएपछि तत्कालका लागि कांग्रेसलाई थप ३ वटा मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
कांग्रेसलाई ५ वटा मन्त्रालय मात्रै लिन प्रस्ताव गर्दा नमानेपछि कांग्रेसले हालसम्म २ वटा मन्त्रालयमात्रै सम्हालेको थियो । मुख्यमन्त्री जम्मकट्टेलले कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामालाई स्वास्थ्य मन्त्रालय, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका छन् । लामा हाल आर्थिक मामिला तथा योजनामन्त्री छन् ।
सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले बजेट निर्माणको चटारोका कारण कांग्रेसलाई ३ मन्त्रालयको जिम्मेवारी दिइएको बताए । नेकपा (एकीकृत समाजवादी) लाई भने तत्काल जिम्मेवारी नदिइएको मन्त्री श्रेष्ठले जानकारी दिए ।
कांग्रेसबाट यसअघि दलका नेता लामा आर्थिक मामिला तथा योजना मन्त्रालय र तिर्थ लामाले खानेपानी तथा सिचाईं मन्त्रालय सम्हालेका थिए । बागमतीमा हाल श्रम, रोजगार तथा यातायात मन्त्रालय र कृषि विकास मन्त्रालय रिक्त छ । सम्भवत: यी दुई मन्त्रालय नेकपा एसले लिने देखिन्छ ।
बागमतीमा ११ वटा मन्त्रालयमध्ये सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले मुख्यमन्त्रीसहित ४ वटा मन्त्रालय सम्हालिरहेको छ ।
भागवण्डा नमिल्दा नेकपा एस भने सरकारबाहिरै छ । नेकपा एसका सांसद तथा पूर्वकानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले भने दुई वटा मन्त्रालय नपाएसम्म सरकारमा नजाने बताए । शिलापत्रबाट साभार ।








