नेपाललाई श्रीलङ्का नबन्ने बाटाेमा लैजान कांग्रेस सक्षम छ : विश्वप्रकाश शर्मा

जनपत्र
९ श्रावण २०७९, सोमबार १७:२०

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको दशक नेपाल निर्माण र नेपाल समुन्नतिको दशकको रूपमा अघि बढ्ने बताउनुभएको छ ।

आज सोमवार ललितपुरमा नेपाल ललितकला सङ्घले आयाेजना गरेकाे कला संस्कृतिको उत्थान विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाएर यो देशमा सबै भाषा, संस्कृतिको प्रगति गरेर सबै दललाई सँगै लैजान सक्ने समाज बनाएर जान कांग्रेस सक्षम रहेको दाबी गर्नुभयो । उहाँले नेपाललाई श्रीलङ्का नबन्ने बाटोमा लैजान, नेपाललाई समुन्नतिको उचाइकाे बाटाेमा लैजान कांग्रेस पार्टी सक्षम रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो देशलाई समुन्नत उचाइमा लिएर जान बाँकी छ । नेपाललाई श्रीलङ्का नबन्ने बाटोमा, नेपाललाई समुन्नतिको उचाइमा लैजान नेपाली कांग्रेस पार्टी सक्षम छ । यो देशमा सबै भाषा, संस्कृतिको प्रगति गरेर सबै दललाई सँगै लैजान सक्ने समाज हामी बनाएर जानेछौँ । अबको दशक नेपाल निर्माण र नेपाल समुन्नतिको दशकको रूपमा लैजानुपर्छ ।’

महामन्त्री शर्माले कलाकार राष्ट्रका गहना नभइ गौरव भएकोले यस्ता भनाइहरूमा पनि परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालले संसार सामु उच्च शिर राखेर समृद्धिको उचाइ जित्न बाँकी रहेको भन्दै कला, संस्कृति र साहित्यले यसमा धेरै सहयोग पुग्ने बताउनुभयो । उहाँले नेपाल कहिल्यै पराजित भएको थिएन भन्ने इतिहास झुटो भएको भन्दै नेपाल पराधिन नभएको तर पराजित भएको पाठ बालबालिकालाई सिकाउन आवश्यक रहेको बताउनुभयो । नेपाली समाजमा विश्वलाई पहिल्यै जितिसकेका छाैँ, अब जित्नै पर्दैन भन्ने एक किसिमको सङ्कुचित सोचको विकास भइरहेकोले कला, संस्कृति र साहित्यमार्फत त्यसलाई हटाउन आवश्यक रहेको उहाँकाे भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*