बागमतीका कृषि सचिब पाण्डेको मनोमानी, सह-सचिब प्रमुख हुने कार्यालयमा अधिकृतलाई जिम्मेवारी

हेटौंडा । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिब डाक्टर शरण पाण्डेले मन्त्रालय मातहतको एक निर्देशनालयमा ११ औं तहको सहसचिब स्तरका कर्मचारी कार्यालय प्रमुख राख्नुपर्नेमा आठौं तहका अधिकृतलाई कार्यालय प्रमुखको जिम्मेवारी दिनु भएको छ ।
निर्देशनालयमा हुने नहुने सबै काम गर्न र सेटिङ मिलाउनकै लागि माथील्लो तहका कर्मचारीलाई हटाएर तल्लो तहका कर्मचारीलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिइएको हो । मन्त्रालय मातहतमा रहेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाको कार्यालय प्रमुख ११ औं तहका कर्मचारी हुने मन्त्रालयको नियम छ । तर, सचिब पाण्डेले आफु अनुकुल काम गराउन र कानून विपरितका कामहरु गराउनकै लागि आठौं तहका अधिकृत डाक्टर ब्रज किशोर ठाकुरलाई निर्देशनालयको निमित्त कार्यालय प्रमुखका रुपमा डेढ महिना अघि देखि जिम्मेवारी दिइएको छ ।
आफु अनुकुलका काम गराउन र निर्णय गराउनका लागि एसमेनका रुपमा ठाकुरलाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएको हो । मन्त्रालयकै नियम अनुसार ११ औं तहको कर्मचारी नहुँदा दशौं तहकालाई निमित्त प्रमुखको जिम्मेवारी दिनुपर्ने हुन्छ । मन्त्रालय मातहतका जिल्ला स्तरका कार्यालयमा पशुपन्छी र मत्स्य विकास हेर्ने दशौं तहका चार जना कर्मचारी कार्यरत छन् । मन्त्रालयले निर्देशनालयमा दशौं तहका कर्मचारीलाई प्रमुखको जिम्मेवारी दिनुपर्छ । तर, बरिष्ठ अधिकृतहरु हुँदा हुँदै अधिकृत आठौंलाई जिम्मेवारी दिएकोमा कर्मचारीहरुले असन्तुष्टी व्यक्त गरेका छन् ।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय मातहतका कार्यालय भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र ललितपुरमा दशौं तहका प्रमुख डाक्टर रामप्रकास प्रधान हुनुहुन्छ । पशुसेवा बिज्ञ तालिम केन्द्र ललितपुरमा दशौं तहका डाक्टर गौरीमान श्रेष्ठ हुनुहुन्छ । भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र चितवनमा दशौं तहका प्रमुखका रुपमा शुशील केसी हुनुहुन्छ । मत्स्य विकास केन्द्र भण्डारा चितवनमा दशौं तहका माधब प्रसाद दाहाल हुनुहुन्छ ।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय मातहतका जिल्ला स्तरका कार्यालयमा दशौं तहका कर्मचारी हाकिम रहने तर, माथील्लो तहको कार्यालय निर्देशनालयमा भने तल्लो स्तरका हाकिम हुँदा काम गर्नका लागि समस्या सृजना भएको कर्मचारीहरु बताउँछन् ।
निर्देशनालयमा तल्लो तहका कर्मचारी हाकिम बनाउँदा बिदा लिन, कार्यालयको रिपोटिङ गर्न समस्या
जिल्ला स्तरका कार्यालयका प्रमुखहरुलाई बिगत डेढ महिना देखि निकै समस्या परेको छ । निदेशनालयमा आफु भन्दा तल्लो तह आठौं तहका कर्मचारीलाई सचिब डाक्टर शरण पाण्डेले ब्रज किशोर ठाकुरलाई हाकिम बनाएर पठाएपछी निर्देशनालय मातहतका कार्यालयका प्रमुखहरुलाई समस्या भएको छ । निर्देशनालय मन्त्रालय पछीको दोस्रो कार्यालय हो । जिल्ला स्तरका सबै कार्यालयले कुनैपनि कामको रिपोटिङ गर्दा माथील्लो कार्यालयमा गर्नुपर्छ । जिल्लाका बिज्ञ केन्द्र र अरु कार्यालयका प्रमुखले कुनै दिन बिदामा बस्नुपर्दा, कार्यालयको रिपोटिङ गर्नपर्दा, भ्रमणमा निस्कदाँ, कार्यालयको चौमासिक, अर्धवार्षिक, बार्षिक समिक्षा गर्दा निर्देशक मातहत रहेर बस्नुपर्ने हुन्छ । तर, पाण्डेको मनोमानीबाट जुनियरलाई हाकिम बनाउँदा समस्यामा परेको कर्मचारीको गुनासो छ ।
यता कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता झलकनाथ कडेलले पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका केही समयका लागि मात्र आठौं तहका कर्मचारीलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको बताउनुभयो । चालु आर्थिक वर्षमा सिनियर कर्मचारीलाईनै निर्देशनालयमा प्रमुखको जिम्मेवारी दिइने उहाँले बताउनुभयो ।
ठाकुरलाई दुइ कार्यालयको जिम्मेवारी
कृषि तथा पशुपन्छी विकास निर्देशनालयका निमित्त प्रमुख रहेका डाक्टर ब्रज किशोर ठाकुरलाई दुइ वटा कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ । निर्देशनालय मातहतका बिज्ञ केन्द्रहरुमा पनि दशौं तहको कर्मचारी प्रमुख हुने तर, आठौं तहका ठाकुरलाई भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मकवानपुरको प्रमुखको जिम्मेवारी समेत दिइएको छ ।
तल्लो तहका कर्मचारीलाई दुइ कार्यालयको जिम्मेवारी दिदा बिज्ञ केन्द्रका कर्मचारीहरुमा पनि असन्तुष्टि देखिएको छ । मन्त्रालय मातहतमा अरु कुनै कर्मचारीनै नभए जस्तो एकै जना तल्ला तहका कर्मचारीलाई दुइ कार्यालयको प्रमुख बनाइएकोमा माथील्ला तहका कर्मचारीको स्वाभिमानमाआच आएको बताएका छन् ।
शिनियर कर्मचारीले आफ्नो जिम्मेवारी बहन गर्न नसक्दा आफुले निमित्त कार्यालय प्रमुखको जिम्मेवारी लिएर काम गरेको निर्देशनालयका निमित्त प्रमुख ठाकुरले बताउनुभयो । शिनियर कर्मचारीले जनताको सेवा नगर्ने भएपछी आफुले कामको जिम्मेवारी लिएर काम गरेको बताउँदै उहाँले भन्नुभयो–‘प्रदेश सरकारले किसानलाई दुधमा अनुदान दिने रकम दिन आलटाल गरेपछी म कार्यालयको जिम्मेवारी लिएर आएको हुँ । म पनि त नवौं तहमा बढुवा हुन लागेको मान्छे होनी त ।’