दार्चुलामा मतदान स्थल हेरफेर हुने

जनपत्र
६ श्रावण २०७९, शुक्रबार ०८:४७

दार्चुलामा मतदाताको सहजताका लागि मतदान स्थल हेरफेर हुने भएका छन् । भौगोलिक विकटताका कारण मतदाताहरूलाई मतदान गर्न असहज हुने गरेकाले पायक पर्ने ठाउँमा मतदान स्थल थप तथा हेरफेर गर्न लागिएको हो ।

बिहीबार बसेको जिल्ला मतदान स्थल र मतदान केन्द्र सिफारिस समितिको बैठकले मतदान स्थल पुनरावलोकनबारे सरोकारवालासँग छलफल गरेको छ । जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकारी प्रदीप धामीका अनुसार सम्बन्धित पालिकाका वडाका मतदाताको सहजताका लागि मतदान स्थल हेरफेर गर्न लागिएको छ ।

यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरिएको छ । निर्वाचन अधिकारी धामीले भने, ‘सम्बन्धित स्थानीय तहको सिफारिसका आधारमा अपायक परेका र भौगोलिक कठिनाइ रहेका मतदान स्थललाई कार्यदलले स्पष्ट किटान गरेपछि हेरफेर गर्नेछौ ।’ उनले आगामी निर्वाचनमा सबै मतदातालाई सहज र मतदान अधिकारबाट वञ्चित हुन नदिन पनि मतदान स्थल पुनरावलोकन गर्न लागिएको बताए ।

अपिहिमाल गाउँपालिकामा १ मतदान स्थल थपको माग गरिएको छ । अपिहिमाल गाउँपालिकाको वडा नम्बर ३ मा हिमालय आधारभूत विद्यालय पाथा र दुधिला आवि झुस्कु मतदान स्थल कायम गरिएको भए पनि मतदाताले घण्टौ हिँडेर मतदान स्थल पुग्नुपर्ने बाध्यता छ । ३ सय बढी मतदाताको सहजताका लागि त्यहाँ पर्ने सुर्मा भवानी आवि थुम्तीमा मतदान स्थल थप गर्नुपर्ने विषय छलफलमा उठेको छ ।

यस्तै लेकम गाउँपालिका(४ मा कायम गरिएको गल्लाकेदार मावि खरकडा स्थलबाट टुक्र्याई तमैराज आवि झलातीमा थप गर्न माग गरिएको छ । यस्तै वडा नम्बर १ को लटिनाथ मावि विथ्थडचौणमा पनि सम्भव भए थप गर्न भनिएको छ ।

जिल्लाको व्यास गाउँपालिका(१ मा रहेको कैलासपति आधारभूत विद्यालय छाङ्गरुको भवन जीर्ण भएकाले त्यहाँ कायम गरिएको मतदान स्थललाई स्वास्थ्यचौकी भवनमा सार्न माग गरिएको छ । यस्तै दुहुँ गाउँपालिका(४ मा रहेको धारीपाटा मावि धारी मतदान स्थललाई यथावत् राखी एउटा महादेव आवि फारामा थप गर्न सुझाइएको छ ।

यस्तै जिल्ला सदरमुकामस्थितको महाकाली नगरपालिका(३ मा रहेको स्वास्थ्य चौकी भवन बाँजको मतदान स्थललाई हुनैनाथ मावि बाँझमा सार्न माग गरिएको छ । स्वास्थ्य चौकी भवनमा कम्पाउण्ड नभएकाले सुरक्षालाई मध्यनजर गर्दै सार्न भनिएको हो । बैठकमा सुरक्षा समिति, राजनैतिक दल, स्थानीय तहका प्रमुखहरूको सहभागिता रहेको थियो ।

भौगोलिक विकटता, सुरक्षा चुनौती, जीर्ण संरचनालाई मध्यनजर गर्दै सम्बन्धित स्थानीय तहको सिफारिस बमोजिम आगामी निर्वाचनका लागि मतदान स्थल हेरफेर गरिने जनाइएको छ । निर्वाचन आयोगले आगामी मङ्सिरमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न सिफारिस गरेको छ । सरकारले निर्वाचनको मिति भने तोकेको छैन । दार्चुलामा २०७९ को स्थानीय निर्वाचनमा एक सय १० मतदान स्थल र एक सय ३९ मतदान केन्द्र कायम गरिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*