प्रचण्ड–नेपालको जोड : कांग्रेससँग सिट बाँडफाँड अघि समाजवादी केन्द्र

जनपत्र
४ श्रावण २०७९, बुधबार ०८:१४

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कांग्रेससँग सिट बाँडफाँड टुंग्याउनुपूर्व समाजवादी केन्द्र बनाउने गृहकार्यमा जुटेका छन् । पाँचदलीय गठबन्धनभित्र रहेका कांग्रेसबाहेकका शक्ति र अन्य वाम शक्तिसमेत समेटेर समाजवादी केन्द्र बनाउने र सम्मानजनक सिट बाँडफाँड गर्ने उनीहरूको योजना छ ।

मूलतः माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानले समाजवादी केन्द्र निर्माणको गृहकार्य थालेका हुन् । तीन पार्टीबीच एकताको प्रयास गर्ने र तत्काल एकता सम्भव नभए एकता वा तालमेल संयोजन समिति बनाएर निर्वाचनमा जाने गरी छलफल भएको छ ।

एमालेबाहेकको वाम गठबन्धनको प्रयास गर्ने र कांग्रेससँगको गठबन्धनलाई पनि कायमै राख्ने नेताहरूको योजना छ । सिट बाँडफाँड टुंग्याउनुपूर्व समाजवादी केन्द्रले निर्वाचन जित्ने र जिताउन सक्ने क्षेत्रको अध्ययन गर्ने तयारी भएको एक नेताले बताए । ‘यसले कांग्रेसमाथि दबाब बनाउन र सम्मानजनक सिट बाँडफाँड गर्न सहज हुन्छ भन्ने लागेको छ,’ एकीकृत समाजवादीका एक पदाधिकारीले भने ।
जसपा र जनमोर्चालगायतसँग मोर्चा बनाउने गरी छलफल अघि बढेको छ । जसपाको डा। बाबुराम भट्टराई पक्षलाई पनि यही मोर्चामा सामेल गर्ने तयारी छ । यसरी अगाडि बढ्दा कांग्रेससँग प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडमा सहज हुने नेताहरूको विश्वास छ । ‘कांग्रेसले बहुमत सुरक्षित गर्ने गरी गठबन्धन गर्ने बताएको छ,’ एक नेताले भने, ‘राजनीतिमा जता बढी लाभ हुन्छ, त्यही गर्ने हो । अरू शक्ति सशक्त नभई कांग्रेस लचिलो हुँदैन, त्यसकारण समाजवादी गठबन्धन हुन सक्छ ।’

समाजवादी केन्द्र निर्माणकै सिलसिलामा मंगलबार विभिन्न चरणमा नेताहरूबीच संवाद भएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र अभियानका संयोजक वामदेव गौतमबीच समाजवादी केन्द्र बनाएर जाने विषयमा छलफल भएको छ ।
मंगलबार साँझ माओवादी केन्द्रको संसदीय दल सिंहदरबारमा भएको छलफल सकारात्मक रहेको नेताहरूले बताएका छन् । ‘नेकपा कालका बहुमत सचिवालय सदस्य दोस्रोपटक बस्यौँ । कांग्रेस र एमालेले गरेका निर्णयबारे चर्चा भयो । वर्तमान गठबन्धनलाई कायमै राखेर जानुपर्छ भन्नेमा हामी कसैको विमति छैन । स्थानीय तह निर्वाचनको अनुभवलाई समेत ध्यान दिएर कसरी प्रभावकारी बनाउने भन्नेबारे चर्चा भयो,’ बैठकपछि प्रचण्डले भने ।

विचार मिल्नेबीच एकताबारे पनि छलफल भएको उनले जानकारी दिए । ‘हिजो हामी एउटै पार्टी ९नेकपा०मा थियौँ । हामी हिजोको नेकपाको सचिवालयका बहुमत छौँ । त्यसकारण विचार मिल्नेसँग एकताबारे पनि छलफल गरिराखेका छौँ । त्यो भनेको वर्तमान गठबन्धनविरुद्ध भने होइन,’ प्रचण्डले स्पष्ट पारे ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि अहिलेको गठबन्धन कायमै राखेर अगाडि बढ्ने बताएका छन् । उनले विचार मिल्नेहरू एक हुने प्रयास गरेर अघि बढ्ने बताए । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले छलफलमा राम्रो प्रगति भएको प्रतिक्रिया दिए । ‘सिंगै राष्ट्रलाई एक बनाउने दिशामा छलफल भइरहेको छ, एउटै समाजवादी केन्द्र बनाउने प्रयासमा छौँ । छलफलमा राम्रो प्रगति भइरहेको छ,’ उनले भने । नयाँ पत्रिकाडेलीमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*