अघिल्लो वर्ष चितवन राष्ट्रिय निकुञ्जमा २ सय ५ वटा पशुपक्षी मरे, १ लाख ९० हजार पर्यटक पुगे

जनपत्र
३ श्रावण २०७९, मंगलवार १७:५५

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा अघिल्लो आर्थिक वर्षमा दुई सय पाँच वटा पशुपक्षी मरेका छन् । भर्खरै सकिएको आर्थिक वर्ष २०७८/०७९ मा निकुञ्जमा सबै गरेर दुई सय पाँच वटा पशुपक्षी मरेको विवरण सङ्कलन भएको निकुञ्ज कार्यालयले जनाएको छ ।

निकुञ्जमा एक वर्षमा ३७ वटा गैँडा मरेका छन् । ३३ वटा गैँडा प्राकृतिक कारण र बाघको आक्रमणबाट तथा दुई वटा चोरी सिकारीका कारण मरेका हुन् । यस्तै ६ वटा माघ मरेका छन् । ६ वटै बाघ प्राकृतिक कारणले मरेका हुन् । यस्तै दुई वटा हात्ती पनि मरेका छन् । चितवन निकुञ्जमा गएकाे वर्ष १० वटा अर्ना, ८६ वटा चित्तल, १० वटा बँदेल, चार वटा गोडियाल गोही लगायतका जनावर मरेका छन् ।

यसैबीच चितवन राष्ट्रिय निकुञ्जमा गएको वर्ष एक लाख ९० हजार जना पर्यटक पुगेका छन् । निकुञ्जले निकालेको तथ्याङ्कअनुसार गएको आर्थिक वर्ष २०७८/०७९ मा एक लाख ९० हजार चार सय ५८ जना पर्यटक पुगेका छन् । यसमध्ये ३४ हजार सात सय ८७ जना विदेशी र एक लाख ५५ हजार जना नेपाली रहेका छन् । पर्यटकको प्रवेशबापत निकुञ्जले सात करोड २९ लाख रुपैयाँ शुल्क सङ्कलन गरेको छ ।

यस्तै जीप सफारीबाट दुई करोड ७८ लाख रुपैयाँ र दण्ड जरिबानाबापत १० लाख ५४ हजार रुपैयाँ सङ्कलन गरेको छ । सबै शीर्षकमा गरेर चितवन निकुञ्जले अघिल्लो आर्थिक वर्षमा ११ करोड ४९ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*