इटालीलाई हराउँदै बेल्जियम युरोकपको क्वार्टरफाइनलमा

जनपत्र
३ श्रावण २०७९, मंगलवार ०७:१८

महिला युरोकपअन्तर्गत गएरातिको खेलमा जित हात पार्दै बेल्जियम क्वार्टरफाइनल प्रवेश गरेको छ । समूह ‘डी’ अन्तर्गतको खेलमा इटालीमाथि १–० को कठिन जित हात पार्दै बेल्जियमले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

म्यानचेस्टर सिटी एकेडेमी मैदानमा खेलको ४९ औं मिनेटमा टिने डि काइग्नीले गरेको एक मात्र गोल बेल्जियमलाई जित दिलाउन पर्याप्त बन्यो । यो जितसँगै तीन खेलमा चार अंक जोडेको बेल्जियम समूह उपविजेताका रूपमा क्वार्टफाइनल पुग्दा इटाली समान खेलबाट एक अंकका साथ अन्तिममा रहेर बाहिरियो ।

यही समूहको अर्को खेलमा फ्रान्स र आइसल्याण्डले १–१ को बराबरी खेलेका छन् । न्यूयोर्क स्टेडियममा खेलको पहिलो मिनेटमै मेल्भिन मालार्डको गोलमार्फत फ्रान्सले सुरूवाती अग्रता लिएको थियो ।

थप गरिएको समयमा आइसल्यण्डकी डग्नी ब्रायनजार्सडटिरले पेनाल्टीमार्फत गोल गरेपछि खेल १–१ को बराबरीमा टुंगियो । यो नतिजासँगै तीन खेलमा सात अंक जोडेको फ्रान्स समूह विजेताका रूपमा क्वार्टरफाइनल प्रवेश गर्दा आइसल्याण्ड समान खेलबाट तीन अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरिएको छ ।

क्वार्टरफाइनलमा बेल्जियमले स्वीडेन तथा फ्रान्सले साविक विजेता नेदरल्याण्ड्सको सामना गर्नेछन् । योसँगै प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पनि पूरा भएको छ । यसपटक यी चारसँगै आयोजक इंग्ल्याण्ड, अस्ट्रिया, जर्मनी र स्पेनले अन्तिम आठमा स्थान सुरक्षित गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*