मकवानपुर गढीः “घर घरमा काम, हात हातमा दाम कार्यक्रम’

जनपत्र
१२ असार २०७६, बिहीबार ०५:५९

हेटौंडा । मकवानपुर गढी गाउँपालिकाले हरेक परिवारले घर–घरमानै काम पाउनुपर्छ भन्ने उदेस्यले बजेट ल्याएको छ । पालिका भरीका सबैजसो परिवारलाई घरघरमानै रोजगार मुलक कामको ब्यवस्था गर्नका लागि योजना बनाएको छ । गाउँपालिकाका अति विपन्न, दलित र लोपउन्मुख परिवारलाई २ वटा भन्दा वढी गाई वा ५ वटा भन्दा वढी बाख्रापालन कार्यक्रमका लागि “घर घरमा काम, हात हातमा दाम कार्यक्रम’ संचालनको लागि समूह निर्माण गरि तालिम सहित अनुदान उपलब्ध गरी बजेट ल्याएको हो । कार्यक्रम संचालनको लागि समूह निर्माण गरि तालिम सहित अनुदान उपलब्ध गर्ने भएको हो ।

आगमी २५ वर्ष भित्रको लक्षय पुरा गर्ने सपना सहितको निर्माणाधिन ५ वर्षे आवधिक योजनाको सूचकहरु पुरा गर्न आगामी आर्थिक वर्षलाई आधार वर्षको रुपमा बजेटको विनियोजन गरिएको छ । त्यसैगरी “व्यवसायिक पशुपालन , कृषिलाई उद्यम र युवालाई उद्यमी” को रुपमा स्थापित गर्न विषयगत दिवस र कार्यक्रमहरु लक्षित गरी सम्मान र प्रोत्साहनका लागि अनुदानको ब्यावस्था गरिने योजना बनाइएको छ । गढीका पकेट क्षेत्रको आधारमा प्रत्येक घरले ५ फलफुलको विरुवा लगाउने अभियानलाई आगामी आर्थिक वर्षबाट अनिवार्य लागू गरिने गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले बताउनुभयो ।

दलित,अपांग तथा अति विपन्न घर परिवारमा एक घर एक टनेल कार्यक्रम संचालन को लागि अनुदान कार्यक्रम पनि गढी गाउँपालिकाले ल्याएको छ । “ आर्थिक वृद्धिको मूल आधार, दुग्ध उत्पादनमा अनुदान’ कार्यक्रम अन्तरगत आगामी आर्थिक वर्षबाट प्रति लिटर ५० पैसा प्रति किसान सहकारी संस्था मार्फत उपलब्ध गराउन अनुदानको व्यवस्था गरिएको अध्यक्ष हुमागाईले बताउनुभयो । “प्रत्येक घरको सदस्य सहकारीमा, सहकारी हाम्रो जीवनमा” भन्ने अभियानलाई सार्थक बनाउन सम्पूर्ण घर धुरी सहकारीमा आवद्धता घोषण तयारीका लागि आवश्यक कार्यक्रमहरु संचालन गर्ने योजना गढी गाउँपालिकाले ल्याएको छ ।

विदेश गई फर्केका तथा गाँउमानै केही स्वरोजगार सिर्जना गर्न इच्छुक विपन्न, असाय, दलित,जानजाति समुदायका व्यक्तिहरुलाई सहकारीमा अवद्ध गराई व्यवसाय गर्न सहकारी मार्फत शुन्य व्याजदरमा ’घुम्तिकोष परिचालनका कार्यक्रम“ संचालनमा अनुदान दिने योजना ल्याएको हो । गढीको वडा नंम्बर २ देखि वडा नंम्बर ७ सुकौरा महादेवडाँडा हुँदै वुढिचौर सम्म पर्यटक ट्रेकिङ्ग मार्गको रुपमा अगाडि वढाउन आगामी आर्थिकवर्षबाट सम्भाव्यता अध्ययनको कार्य अगाडि वढाईने बताइएको छ ।

पुथ्वी नारायण शाहाले नेपाल एकिकरणको महान अभियानमा उपयोग गरेको पदमार्ग खँुडेधारलाई एैतिहासिक पर्यटकिय मार्गको रुपमा विकास गर्न सुरुवात गरिने योजना बनाएको छ । ’मकवानपुरगढी गाउँपालिकाको पहिचान, समृद्धिको आधार पर्यटन’ भन्ने नारालाई सार्थकता दिन संचालित होटलहरुमा पाहुना सत्कार तथा हस्पिटालिटी सम्वन्धी तालिम कार्यक्रम संचालन गरिने अध्यक्ष हुमागाईले बताउनुभयो ।

शिशु, बाल र मातृ मुत्यु दर घटाउने र महिलाको प्रजनन स्वास्थ्यमा सुधार ल्याउन वर्थिङ सेन्टरमा प्रसुती गराउने व्यवस्थालाई प्रभावकारी बनाउन बनाउन लागिएको छ । कार्यक्रम अनुसार नेपाल सरकारबाट प्राप्त हुने २ हजार ८ सय सुत्केरी प्रोत्साहन भत्तामा गाउपालिकाको आन्तरिक आय तर्फ रु १५ सय थप गरी ४ हजार ३ सय उपलब्ध गराउने व्यवस्थालाई आगमी आर्थिक वर्षमा समेत लाई निरन्तरता दिइने बताइएको छ ।

परिवार नियोजन कार्यक्रमलाई प्रवद्धन तथा महिला स्वस्थ्यलाई मध्यनजर गर्दै आदर्श परिवारको आवधारणा अनुसार परिवार नियोजनका लागि प्रोत्साहन गर्न लागिएको छ । पुरुष वन्ध्याकरण प्रोत्साहन कार्यक्रम संचालन गरि गाउँपालिकाको तर्फबाट प्रति व्यक्ति एक हजार ५ सय प्रोत्साहन उपलब्ध गराइने तयारी गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*