प्रदेश ३ सांसदको आक्रोस, स्थायी राजधानी तोक्न माग

जनपत्र
११ असार २०७६, बुधबार २०:४७

हेटौँडा । ३ नम्बर प्रदेश सभाको वैठकमा राजधानीको विषयको बारेमा प्रश्न उठेको छ । विनियोजन विधेयक माथिको छलफलको क्रममा राजधानीको विषय उठेको हो । राजधानीको विषयलाई किन प्रवेश नगरेको भन्दै काभ्रेका सांसद चन्द्र लामाले प्रश्न गरेका हुन् । यस्तै काभ्रेकै कै सांसद लक्ष्मण लम्सलाले राजधानीको विषयलाई हल गर्न नसके बजेट कार्यान्वयनमा समस्या हुने बताए । बजेट राम्रो ल्याएको भएता पनि अस्थायी मानसिकताले बजेट कार्यान्वयन हुन नसक्ने दाबी गरेका हुन् । नेपाली कांग्रेसका सांसद निमा लामाले स्थायी राजधानी र नामाकरणलाई फाष्ट ट्रयकमा लैजानु पर्ने बताए । नेकपाका सांसद रत्न प्रसाद ढकालले राजधानीको विषय बार्गेनिङ गर्न हुन्न भन्दै स्थायी राजधानी चाँडै टुङ्ग्याउनु पर्ने बताए । उनले बजेटको विषय पछि राजधानीको विषय र नामाकरणको विषय बाहेक अन्य विषय प्रवेश गराउन नहुने बताए ।

बजेटमा असन्तुष्टी, मन्त्रालय खारेजसम्मको माग

३ नम्बर प्रदेश सरकारले आर्थिक बर्ष ०७६/०७७ का लागि ल्याएको बजेटमाथि प्रदेशसभा सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका छन् । असन्तुष्टि व्यक्त गर्नेमा सत्ता पक्ष र प्रतिपक्ष दुबैतर्फका सांसद रहेका छन् । बजेटमाथि छलफल गर्दा प्रदेशसभा सदस्यहरुले मन्त्रालय खारेजदेखि योजनाको पन्ना हराएको सम्मका विषय उठान गरेका थिए ।

विनियोजन विधेयकमाथिको धारणा राख्ने क्रममा कांग्रेस सांसद नरोत्तम बैद्यले बुधबार पटक पटक बैठक सारेर सभामुख सरकारको ‘लाचार छायाँ’ बनेको बताए । उनले कुनै पार्टीको आन्तरिक विवादमा फँसेर बैठक पटक पटक नसार्न उनले सभामुखलाई सुझाव दिए । उनले सांसदलाई दिने बजेटले भ्रष्टाचार बढाउने भएकाले यस्तो नगर्न सचेत गराए । उनले काठमाण्डौं सम्पदाहरुको शहर भएपनि सम्पदा संरक्षणमा बजेट विनियोजन नहुनु दुःखद भएको उनको भनाई थियो ।

नेकपाका सांसद चन्द्र लामाले आफ्नो क्षेत्रमा बजेट नपरेको प्रति गुनासो गर्दै अपुग भए आफ्नो क्षेत्रको योजना पनि लैजान मन्त्रीहरुलाई आग्रह गरे । उनले अझै पनि बजेटमा गाविसकै नाम तोकिएको भन्दै आपत्ति जनाए । नेमकिपाकी सांसद सिर्जना शैज्युले बजेटले बैचारिक दरिद्रता प्रस्तुत गरेको बताईन् । उनले यो बजेट समाजवादी खोल ओढेको पूँजिवादी बजेट भन्दै यसले बेरोजगारी नघटाउने दावि गरिन् । उनले प्रदेश सरकारले एक करोड रुपैँया भन्दामाथिका योजना मात्रै विनियोजन गर्नुपर्ने बताईन् । बजेटमा हुँदै नभएको दुई वडा जोड्ने पुलमा समेत बजेट विनियोजन भएको भन्दै आपत्ति जनाईन् ।

सांसद लक्ष्मण लम्सालले बजेट धेरै कुरा समेट्न खोजेको बताए । उनले बजेटमा रहेका कमजोरीलाई सच्याएर अघि बढ्न सकिने बताए । नेपाली कांग्रेसका सांसद निमा लामाले बजेट कितावको पन्ना नम्बर ३२ देखि ४३ सम्म रसुवा र सिन्धुपाल्चोकको योजना नै हराएको भन्दै आपत्ति जनाए । नेकपाका सांसद शान्ति थिङले पनि बजेटले रसुवालाई उपेक्षा गरेको गुनासो गरिन् । उनले रसुवागढी नाकाको व्यवस्थापनमा प्रदेशले वेवास्ता गरेको बताईन् ।

राप्रपा प्रजातान्त्रिककी सांसद रिना गुरुङले बजेट वितरणमुखी, पालनपोषणमुखी ढंगको आएको बताईन् । उनले एउटा प्राईभेट कम्पनीलाई डेढ करोड रकम विनियोजन गरेको भन्दै आपत्ति जनाईन् । उनले ५ कक्षा पढेको विद्यार्थी पनि यो भन्दा उत्कृष्ट बजेट बनाउने दावि गरिन् ।
स्वतन्त्र सांसद प्रेमबहादुर तामाङले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र प्रदेश नीति तथा योजनाको औचित्य नरहेको भन्दै खारेजीको माग गरे । उनले सबैभन्दा विकट रसुवामा नुन किन्न समेत एक दिन हिड्नुपर्ने क्षेत्रहरु रहेको तर बजेटले सम्बोधन नै नगरेको भन्दै आपत्ति जनाए । उनले आफुसंग मार्सी भात र खशी खुवाउने पैसा नभएका कारण बजेट परेको भन्दै ‘अरिंगालहरु’ लाई आहारा दिने खालको बजेट आएको बताए । उनले दुई तिहाई समृद्धि र विकासका लागि नभई मनलाग्दी गर्नका लागि भएको भान भएको बताए ।

बजेट छलफलमा भाग लिंदै कांग्रेसका सांसद विजया श्रेष्ठ केसी, जीवन डंगोल, सन्तबहादुर चेपाङ, पुकार महर्जनले भ्रष्टाचार मौलाउने, असमानता बढाउने, सांसदहरुबीच विभेद गर्ने, मन्त्रीमुखी बनाएको टिप्पणी गरे । उनीहरुले अपारदर्शी बजेटको समर्थन गर्न नसक्ने बताए ।
बजेट छलफलमा नेकपाका सांसद रामेश्वर फुँयाल, दिपक निरौला, केशव पाण्डे लगायतले बजेट नीति तथा कार्यक्रम अनुसार नै आएको बताए । उनीहरुले बजेटले प्रदेश समृद्धिको खाका कोरेको समेत दावि गरे । प्रदेशसभाको अर्को बैठक असार १२ गते ११ बजे बस्ने भएको छ । गुगलपाटी र प्रस्टखबरको सहयोगमा ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*