हेटौंडामा ११ महिनामै २१ किलोमिटर पक्की सडक निर्माण

४३ मिलोमिटर कल्भर्ट, एक हजार नक्सा पास, खेलकुद कभर्ड हल निर्माण, हरियाली र फूलैफूलको सहर निर्माणको काम गरिएको छ ।
जनपत्र
११ असार २०७६, बुधबार १०:४९

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक बर्षको ११ महिनाको अबधिमा हेटौंडाको २१ किलोमिटर सडक पक्की निर्माण गरिएको छ । यसअघि कच्ची रहेका सडक पक्की निर्माण गर्ने कामलाई तिब्रता दिने कार्यक्रम अनुसार हेटौंडा १९ वटा वडामा गरेर २१ किलोमिटर भन्दा बडी सडक पक्की निर्माण गरिएको हो । हेटौंडाका सडकलाई चिल्लो, फराकिलो संगै फूलै फूलको शहरका रुपमा बिकाश गर्न आफु लागिपरेको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।

चालू आर्थिक वर्षमा उपमहानगरपालिका क्षेत्रभित्रका विभिन्न सडक खण्डमा २ दशमलब ८ किलोमिटर सडकमा कालोपत्रे गर्ने कार्य सम्पन्न गरिएको छ । यस अवधिमा सबै भन्दा धेरै १८ दशमलब ७ किलोमिटर सडक ढलान गर्ने कार्यलाई पुर्णता दिइएको मेयर महतले बताउनुभयो । नगरको सबै भन्दा धेरै रकम पूर्बाधारका क्षेत्रमा खर्च भएको छ । त्यस अनुसार काम पनि गरिएको उहाँले बताउनुभयो । यसैगरी २४ किलोमिटर सडकका लागि नयाँ ट्रयाक खोल्ने लक्ष्य रहेकोमा २३ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको छ । हेटौंडाको बिकाशमा कुरा भन्दा पनि काम गरेर देखाउने अभियानमा आफु लागिपरेको उहाँले बताउनुभयो ।

हेटौंडामा ४३ मिलोमिटर कल्भर्ट निर्माण

हेटौंडाका विभिन्न वडाको ४ वटा स्थानमा ४३ मिलोमिटर कल्भर्ट निर्माण गरिएको छ । सडक स्तरीकरण गरी आवागमनमा सहज तुल्याउन २४ दशमलब ४ किलोमिटर कच्ची सडकमा ग्राभेल गर्ने काम सम्पन्न गरिएको मेयर महतले बताउनुभयो । यसैगरी नगरको चालु आर्थिक बर्षको बजेटबाट खेतियोग्य जमिनमा सिंचाई सुविधा पुर्याउन वडा नम्बर १२ मा ८१ मिटर लामो कुलो निर्माण गरिएको छ ।

विभिन्न वडाका वासिन्दाको दैनिक जीवन सहज बनाउन उपमहानगरपालिकाको विभिन्न स्थानहरुमा १२ वटा खानेपानी योजना सम्पन्न गरी थप १ हजार घरधुरीमा खानेपानीको सुविधा पुर्याइएको छ । उपमहानगरपालिकाको ८ वटा वडाहरुमा ११ वटा सामुदायिक भवनको निर्माण कार्य सम्पन्न भएको छ । सवारी आवागमनलाई सुरक्षित र व्यवस्थित बनाउन कान्तिलोकपथको मध्य भागमा ४ सय मिटर लामो डिभाइडरको निर्माण कार्य सम्पन्न गरिएको मेयर महतले बताउनुभयो ।

१ हजार २ सय ७६ वटा नक्सा पास

चालू आर्थिक वर्षको यो अवधिमा भवन इजाजत शाखामा घरनक्सा पासको निमित्त नक्सा दर्ता १ हजार २ सय ७६ वटा नक्सा पास भएको छ । नगर क्षेत्रभित्रमा कार्यक्रम सञ्चालन गरिरहेका सहकारी संस्थाहरुको तथ्याङ्क, आँकडा तथा सूचनाहरुको विद्युतीय माध्यमबाट प्रशोधन तथा अभिलेखीकरण गरी जोखिमका आधारमा समस्याग्रस्त सहकारी संस्थाहरु पहिचान गर्न प्रयोगमा ल्याईएको छ ।

गोठ सुधार कार्यक्रम सञ्चालन गरी नगरका ६२ जना कृषकहरु लाभान्वित भएका छन् । मिलिकङ मेशिन र मिल्क एनालाईजर जस्ता कृषकलाई प्रत्यक्ष रुपमा लाभ पुर्याउने कृषि औजार उपकरणमा अनुदान दिई अर्गानिक खेती प्रवद्र्धन, साना सिँचाई निर्माण तथा पोलिहाउसको निर्माण सम्पन्न गरिएकोछ ।

कृषि स्वरोजगारका कार्यक्रमहरु सञ्चालन

युवाबाट सञ्चालित पशुपालन फर्महरुलाई अनुदान वितरण गरी हिउँदे घाँसको बीउ वितरण, नगरको चार वटा क्षेत्रमा बाख्रा पकेट क्षेत्र सञ्चालन र गुरौविर्ता, चुरियामाई क्षेत्र र हर्नामाडीमा टनेल निर्माण र कृषक पाठशाला सञ्चालन गरिएको छ । विभिन्न कृषि स्वरोजगारका कार्यक्रमहरु सञ्चालन गरिएको छ ।

बालबिबाह अन्त्य र लैंगिक हिंसा न्यूनीकरणका लागि रणनैतिक योजना र कार्ययोजना निर्माण गरिएको छ । निकृष्ट बालश्रम उन्मूलन वडा घोषणा कार्यक्रम भईसकेकोमा सरोकारवानाहरुकोसमेत सहभागितमा सोको निरन्तर अनुगमन गरिएको उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाले बताउनुभयो ।

खेलकुद कभर्ड हलको निर्माण कार्य सम्पन्न

हेटौंडा–४ मा खेलकुद कभर्ड हलको निर्माण कार्य सम्पन्न भएको छ भने हेटौंडा वडा नं १७ को स्वास्थ्य चौकी तथा सहरी स्वास्थ्य केन्द्रलाई स्तरवृद्धि गरी चिकित्सकको सुविधासहित सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनमा ल्याइएको छ । हेटौंडाको वडा नम्बर. १, ७, १२ र १९ मा स्वास्थ्य प्रवद्र्धन केन्द्रको निर्माण कार्य यसै वर्ष सम्पन्न गरिएको छ । सामुदायिक आँखा अस्पतालसँगको सहकार्यमा नगरका सबै सामुदायिक विद्यालयहरुमा विद्यार्थी आँखा जाँच कार्यक्रम र आँखाको नानी संकलन कार्य सञ्चालन गरिएको मेयर महतले बताउनुभयो ।

नगरभरिका सामुदायिक विद्यालयहरुमा अध्ययनरत छात्राहरुका लागि निःशुल्क सेनेटरी प्याड वितरण कार्य सम्पन्न गरिएको छ । नगरभित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार्न बुलेटिन तथा शैक्षिक क्यालेण्डर निर्माण, दिवा खाजा कार्यक्रम, आवासीय छात्रावास, विशेष शिक्षा सञ्चालन चालू आर्थिक वर्षमा सम्पन्न गरिएको छ । यसैगरि २ वटा नमूना विद्यालय, ७ वटा ४ कोठे भवन, २ वटा २ कोठे भवन थप निर्माण गरिएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।

सफा, हरियाली र फूलैफूलको सहर हेटौंडा

हेटौंडालाई अरु शहरको तुलनामा अली फरक तरिकाले बिकाश गर्न लागिएको छ । सफा हरियाली, फूलैफूलको सहर हेटौंडा भन्ने सोचलाई कार्यान्वयन गर्न सडक किनारामा क्यारी निर्माण गरी करिव ३५ हजार विभिन्न जातका विरुवा तथा फूलहरु रोपिएको मेयर महतले बताउनुभएको छ । हेटौंडाको कान्तिलोकपथ, भैरवरोड, स्कुलरोड, नगरपालिका रोड लगायतका क्षेत्रमा फूल रोपेर नमुना शहरका रुपमा बिकाश गर्न लागिएको छ ।

६० वटा शौचालय निर्माण

उपमहानगरपालिकाले समुदायमा आधारित पूर्ण सरसफाई कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षमा ६० वटा शौचालय निर्माण गरिएको छ । उपमहानगरपालिकाको १७ वटा वडाहरुका वजारउन्मुख क्षेत्रमा निजी सेवाप्रदायक संस्थामार्फत घरदैलो फोहोर संकलन कार्य सञ्चालनमा ल्याइएको छ । नगरलाई सफा र सुन्दर राख्न नाला लगायत सडक छेउमा आवश्यक सरसफाईको कार्य सञ्चालन गरिएको छ । नगरवासी महिलाहरुको उद्यशिलता अभिवृद्धि गर्न महिलामात्र सञ्चालकको रुपमा रहेका उद्योग दर्तामा ५० प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ ।

राजस्व प्रशासनलाई सरल, सहज र प्रविधिमैत्री

उपमहानगरपालिकाको कर तथा राजस्व प्रशासनलाई सरल, सहज र प्रविधिमैत्री बनाउन यसै आर्थिक वर्षमा ९ वटा वडाहरुमा विद्युतीय प्रणाली विलिङ सिस्टम सञ्चालनमा ल्याइएको छ । विगत १० वर्षदेखि उपमहानगरपालिकाको स्वामित्वमा रहेको जग्गामा व्यवसाय सञ्चालन गरिरहेका थोक फलफूल तथा तरकारी व्यवसायीहरुलाई निजहरुबाट उपभोग भएको जग्गाको सम्झौता गरी जग्गा बहाल असुलीको कार्य गरिएको छ । नगर क्षेत्रभित्रका सबै व्यवसायीहरुलाई करको दायरामा समेट्ने प्रयोजनको लागि व्यवसायीहरुको तथ्याङ्क अद्यावधिक गर्न व्यवसाय कर संकलन टोली परिचालन भईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*