नागरिकता वितरणमा भइरहेको बाधा पन्छाउन विधेयक फिर्ता : गृहमन्त्री

जनपत्र
२४ असार २०७९, शुक्रबार १७:३८

काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाणले नागरिकता वितरणमा भइरहेको बाधालाई पन्छाउनका लागि सरकारले नागरिकतासम्बन्धी विधेयक प्रतिनिधि सभाबाट फिर्ता लिएको बताउनुभएको छ ।

आज शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री खाणले प्रतिनिधि सभामा अहिले भएको नागरिकतासम्बन्धी विधेयक यथास्थितिमा बसिरहँदा नागरिकता वितरणको काममा बाधा उत्पन्न भएको बताउनुभयो । उहाँले नागरिकता वितरणमा भइरहेको बाधा पन्छाउनका लागि विधेयक फिर्ता लिएको बताउनुभयो । उहाँले नागरिकतासम्बन्धी नयाँ विधेयक संसदमा पेस हुने पनि जानकारी गराउनुभयो ।

गृहमन्त्री खाणले भन्नुभयो, ‘हामीले नयाँ विधेयक राजनीतिक दलहरूको सहमतिमा पास गर्न सकौँ । अहिलेको यो अवस्था हाम्रो राष्ट्रिय समस्या नै भइसक्यो । नागरिकताबाट वञ्चित भएकाहरूलाई हामीले नागरिकता दिलाऔँ । नागरिकताको कारणले अझै राष्ट्रवाद बलियो हुन सकोस् । आजै मन्त्रिपरिषद् बैठक बस्नेछ, आजै नागरिकता विधेयक फेरि प्रस्तुत हुनेछ । त्यो विधेयकमा माननीयज्यूहरूले राख्नुभएको चासोलाई गम्भीरतापूर्वक नै सम्बोधन गरिनेछ । यो अहिले यत्तिकै यथास्थितिमा बसिरहँदा नागरिकता वितरण गर्ने काममा बाधा उत्पन्न भएको छ । यही बाधा पन्छाउनका लागि नै विधेयक फिर्ता लिएको हो ।’

उहाँले सरकारले पेस गर्ने नागरिकतासम्बन्धी विधेयक पूर्ववर्ती विधेयकलाई नै मूल आधार बनाएर ल्याइने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*