नेपाल एसबिआई बैंकको ३० लाख कित्ता ऋणपत्रमा आजबाट आवेदन दिन सकिने, ब्याजदर कति ?

जनपत्र
२२ असार २०७९, बुधबार ०८:१९

नेपाल एसबिआई बैंक लिमिटेडले वार्षिक १०।२५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्दैछ । बैंकले आज अर्थात असार २२ गतेदेखि ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। सो ऋणपत्रको अवधि ५ वर्ष रहनेछ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । सोमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । उक्त ऋणपत्रमा कुनै पनि सामूहिक लगानी कोषले आवेदन दिएका छैनन् ।

सो ऋणपत्र खरिदका लागि छिटोमा असार २६ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि साउन ४ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*