पुटिनलाई भेटेर इन्डोनेसियाली राष्ट्रपति भने–युक्रेन युद्ध चाँडै अन्त्य होस्

जनपत्र
१७ असार २०७९, शुक्रबार ०६:५८

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग लगातार भेटवार्ता गरेका इन्डोनेसियाली राष्ट्रपति जोको विदोदोले आफ्नो मुलुकले यो युद्ध चाँडै अन्त्य होस् भन्ने चाहेको बताएका छन् ।

मस्कोमा पुटिनसँगको वार्तापछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा विदोदोले भनेका छन्, “बाह्य परिस्थिति अझै जटिल देखिए तापनि अझैपनि समस्या समाधान र खुला वार्तातर्फ अघि बढ्नु महत्वपूर्ण छ । म विश्वका सम्पूर्ण नेताहरूलाई आपसी सहयोगको भावना ब्युँताउँन आह्वान गर्छु ।”

यसैगरी सोही पत्रकार सम्मेलनमा पुटिनले भनेका छन्, “हामीबीचको वार्ता उत्पादक रह्यो । आज भएका सहमतिहरूले रुस र इन्डोनेसियाबीचको सझेदारीलाई अझै सदृढ बनाउने कुरामा म विश्वस्त छु ।”

तर, पुटिनले कुनै पनि संभावित विश्वव्यापी खाद्यान्न समस्याका लागि पश्चिम जगत्लाई दोष दिन भने चुकेनन् । पुटिनले भनेका छन्, “हामीले बारम्बार थुप्रै मुलुकको धेरै वर्षदेखिको गैरजिम्मेवारपूर्ण आर्थिक नीतिहरूको प्रत्यक्ष परिणाम स्वरूप खाद्यान्न बजारमा असन्तुलन आएकोबारे चिन्ता व्यक्त गरेका छौँ ।”
कोरोना भाइरस महामारीको सुरुवातदेखिका खराव परिस्थिति र असुरक्षित ऋणको अनियन्त्रित निष्कासन र संचय पनि असन्तुलित खाद्य बजार असन्तुलनको प्रमुख कारण रहेको उनको भनाइ छ ।

आफ्नो आर्थिक पथको भ्रम स्वीकार्न नसकेका पश्चिमी मुलुकहरूले रुसी र बेलारुसी मलको आपूर्तिमाथि प्रतिबन्ध लगाउँदै विशवव्यापी कृषि उत्पादनलाई थप अस्थिर बनाउँदै लगेको उनको आरोप छ । युक्रेनमाथि रुसको आक्रमण र ब्ल्याक सीका बन्दरगाहहरूमा रहेका अवरोध भन्दा रुसमाथि लगाइएका प्रतिबन्धले कृषिजन्य उत्पादन निर्यातमा बढी रोकावट भइरहेको पुटिनले बताए ।

बीबीसीबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*