बागमती प्रदेशः सडक पूर्वाधारका क्षेत्रमा के–के काम गरिदै छ ?

जनपत्र
१३ असार २०७९, सोमबार ०८:११

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सडक पूर्वाधारमा जोड दिएको छ । प्रदेशको भौतिक मन्त्रालयले सडक पूर्वाधारमा सबै भन्दा धेरै बजेट छुट्याएर काम गर्न लागिएको छ । “प्रादेशिक लोकमार्ग” कार्यक्रममा समावेश भएका निर्माणाधीन सडकहरुलाई प्राथमिकतामा राखी निर्माण सम्पन्‍न गर्न १ अर्ब ९० करोड ९१ लाख विनियोजन गरिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले बताउनुभयो ।

“प्रादेशिक मार्ग” अन्तर्गत प्रदेशको मुख्य आर्थिक तथा बजार केन्द्र, धार्मिक, ऐतिहासिक, पर्यटकीय, औद्योगिक तथा अन्य महत्त्वका स्थलहरु जोड्ने रणनीतिक सडक वा उपमार्ग (बाईपास) लगायतका आयोजनाहरु सम्पन्‍न गर्न ३ अर्ब ७४ करोड ८९ लाख विनियोजन गरिएको छ । प्रदेश भित्र रहेका शहरका मुख्य स्थान, शहरी चक्रपथ, कृषि बजार केन्द्र, शिक्षा र स्वास्थ्य केन्द्र जोड्ने तथा तत्काल प्रतिफल र रोजगारी सिर्जना गर्ने सडक आयोजनाहरुका लागि शहरी तथा स्थानीय सडक कार्यक्रममा ६ अर्ब ८१ करोड ३८ लाख विनियोजन गरिएको उहाँले बताउनुभयो ।

प्रदेशको राजधानीलाई संघीय राजधानीसँग जोड्ने रणनीतिक सडकको रुपमा रहेको फर्पिङ–टुल्कु– हुमाने भञ्‍ज्याङ सडकको स्तरोन्‍नति तत्काल अगाडि बढाउन १८ करोड विनियोजन गरिएको मन्त्री जमकट्टेलले बताउनुभयो । निर्माणाधीन मदन भण्डारी मार्ग–भैसे–भिमफेदी–कुलेखानी– सिस्नेरी– दक्षिणकालीको कुल ५३ किलोमिटर मध्ये भैंसे –भीमफेदी सडक खण्ड दुई लेनमा स्तरोन्‍नति गर्ने कार्य आगामी आर्थिक वर्षमा सम्पन्‍न गरिने तयारी गरिएको छ। कुलेखानी देखि दक्षिणकाली सम्मको सडक आगामी आर्थिक वर्षमा सम्पन्‍न गर्न र बाँकी २१ किलोमिटर सडकलाई दुई लेनमा स्तरोन्‍नति गर्ने कार्यको लागि आवश्यक विनियोजन गरिएको छ ।

दोलखा जिल्लाको लामाबगर हुँदै चिनको सिमाना जोड्ने सडक निर्माण तथा स्तरोन्‍नति गर्न १० करोड विनियोजन गरिएको छ । काभ्रे जिल्लाको राम्चे देखि दोलखा जिल्लाको खरिढुंङ्गा जोड्ने चौरी राजमार्ग निर्माणको लागि छ करोड विनियोजन गरिएको छ । बागमती प्रदेश भित्रका बिभिन्‍न जिल्ला वीचको अन्तर आबद्धता बढाउन तथा प्रदेश राजधानीसँग जोड्न र आर्थिक क्रियाकलापलाई टेवा पुर्‍याउन बागमती प्रदेश चक्रपथ निर्माणको सम्भाव्यता अध्ययन गरी निर्माण शुरु गरिने भएको छ ।

संघ तथा स्थानीय तह र नीजि क्षेत्रको साझेदारीमा बल्खु–हेटौंडा र खुर्कोट–चियाबारी सुरुङ मार्ग लगायत प्रदेश भित्र अन्य सम्भावित सुरुङ मार्ग अध्ययन गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ । प्रदेशमा बहुवर्षीय र क्रमागत आयोजनाका रुपमा निर्माणाधीन सडक आयोजनाका लागि बजेट सुनिश्‍चित गरिएको छ । निर्माण सम्पन्‍न भएका आयोजनाहरुलाई बार्‍है महिना सञ्‍चालन हुने गरी नियमित, आवधिक तथा आकस्मिक मर्मत सम्भार गर्न आवश्यक रकम व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*