युक्रेनी फौजलाई सेभेरोदोनेत्स्कबाट पछि हट्न आदेश

जनपत्र
११ असार २०७९, शनिबार ०६:५४

युक्रेनका एकजना वरिष्ठ क्षेत्रीय अधिकारीका अनुसार युक्रेनी फौजलाई सेभेरोदोनेत्स्कबाट फर्कन आदेश दिइएको छ । सो क्षेत्रलाई पूर्ण नियन्त्रणमा लिने उद्देश्यले यस पूर्वी सहरमा हप्तौँदेखि रुसी फौजले लगातार बमबारी गर्दै आएको छ ।

युक्रेनले लिसिचान्स्क सहर बाहेक लुहान्स्क पूर्ण रूपमा रुसको नियन्त्रणमा छोडेर पछि हट्न लागेको हो । रुसी भाषीहरूको बाहुल्य रहेको पूर्वी युक्रेनी क्षेत्रको लुहान्स्क रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि प्रमुख प्राथमिकताको विषय हो ।

दोनेत्स्क र लुहान्स्क मिलेर दोन्बास क्षेत्र बनेको छ । ठूलो औद्योगिक क्षेत्रको रूपमा चिनिने दोन्बासमाथि रुस समर्थित पृथकतावादी लडाकुहरूले सन् २०१४ देखि नै आँखा गाड्दै आएका हुन् । युक्रेनमाथि आक्रमण गर्नुको सफाइ दिने क्रममा रुसका राष्ट्रपति पुटिनले दोन्बासमा रुसी भाषीहरूको आम नरसंहार भइरहेको ‘झुठो’ दाबी गरेका थिए ।

बरु जथाभावी ढंगले बमबारी गरेर युक्रेनी जनताको आम संहार गरिरहेको आरोप अहिले युक्रेनले मस्कोलाई लगाउने गरेको छ । हालैमात्र सेभेरोदोनेत्स्कका सडकमा पनि भीषण भिडन्त सुरु भएको छ । रुसी फौजले यस सहरलाई युक्रेनी नियन्त्रणमा रहेका भूभागबाट अलग्याउने उद्देश्यले त्यहाँका सम्पूर्ण पुल ध्वस्त पारिसकेको छ । सबै क्षेत्रबाट रुसी फौजद्वारा घेरिनबाट जोगिन युक्रेनले फौजलाइ पछि हट्न आदेश दिएको बताइएको छ ।

बीबीसीबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*