चितुवाकाे डरले बेलुकी साढे ७ बजेपछि ढाेका थुनेर बस्छन् बन्दीपुरवासी

जनपत्र
५ असार २०७९, आईतवार १४:११

तनहुँ – तनहुँको बन्दीपुर गाउँपालिका १ का बासिन्दा बेलुकी हुनेबित्तिकै घरको ढोका थुनेर भित्रै बस्न बाध्य भएका छन् । बेलुकी समयमा चितुवा मानवबस्ती नजिक देखिन थालेपछि त्यस क्षेत्रका मानिस सतर्कता अपनाउन घरबाहिर निस्किन छाडेका हुन् । बेलुकी साढे ७ बजेपछि सबै घरका मानिसले ढोका थुनेर बस्ने गरेको स्थानीयवासी बताउँछन् ।

रातको समयमा शौच गर्न पनि बाहिर जान डर हुने गरेको स्थानीयवासीको भनाइ छ । मञ्चमाया सारुले भन्नुभयो, ‘सहर बजारको घर भए पो घरभित्रै शौचालय निर्माण गरिएको हुन्छ, तर गाउँघरतिर प्रायः शौचालय बाहिर नै बनाइन्छ’, उहाँले भन्नुभयो, ‘बाँच्नु त पर्‍यो नि बाहिर निस्कन डर लाग्छ ।’

चितुवाले आफ्नो झन्डै ३० हजार रुपैयाँ बराबरको खसी खाइदिएको उहाँले दुखेसो पोख्नुभयो । एक हप्तामा यस क्षेत्रमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान जानुका साथै एक बालिकासहित तीन जना घाइते भएका छन् । चितुवाको आक्रमणबाट पाँच वर्षीय सुप्रिम बगाले बगरको ज्यान गएको हो । चितुवाको आक्रमणबाट आठ वर्षीय रियाना थापा, ३४ वर्षीय मिलाल बरायाञ्जा र एक महिला घाइते भएका छन् ।

चितुवाको आक्रमणबाट मानवीय क्षति भएपछि स्थानीय छपेली सामुदायिक वनमा तीन वटा खोर राखेर पासो थापिएको बन्दीपुर १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । सचेतनामूलक सन्देश प्रवाह गर्नुका साथै सुरक्षित भएर बस्न स्थानीयवासीलाई आग्रह गरिएको उहाँले बताउनुभयो । चितुवाका लागि खोर राखिए पनि अहिलेसम्म चितुवा पासोमा पर्न सकेको छैन । तनहुँमा अहिलेसम्म चितुवाको आक्रमणबाट १२ जना बालबालिकाले ज्यान गुमाइसकेका छन् ।

चितुवा देखिएमा तत्काल खबर गर्न स्थानीयवासीलाई आग्रह गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । बेलुकी र बिहानको समयमा सुरक्षित भएर हिँड्डुल गर्न अनुरोध गरिएको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*