‘हजुरबुबाले लिएको ऋण नाती पुस्तासम्म तिर्दा नपुगेर साहुले जग्गा कब्जा गरे’

जनपत्र
३ असार २०७९, शुक्रबार १५:०५

काठमाण्डौ – मिटर ब्याज पैसा लिँदै जग्गा कब्जा गरेका साहुलाई कारबाहीको माग राख्दै नवलपरासीका मिटर ब्याज पीडितले काठमाण्डौमा आन्दोलन सुरु गरेका छन् ।

नवलपरासीका जगदीश बानियाँ र सुनिल बानियाँले स्थानीयवासीलाई मिटर ब्याजमा पैसा लिएर दुई लाख रुपैयाँ ऋण दिएबापत १५ लाख रुपैयाँसम्म लिएको भन्दै माइतीघरमा कारबाहीको माग राख्दै उनीहरूले आन्दोलन सुरु गरेका हुन् ।

जगदीशका दाजुभाइसँग विदेश जानका लागि डेढ लाख रुपैयाँ ऋण लिए पनि ६ वर्ष विदेश बसेर कमाएको १२ लाख रुपैयाँ दिँदासमेत अझै ऋण चुक्ता नभएको भन्दै पैसा माग्ने गरेको मिटर ब्याज पीडित राजकुमारले बताउनुभयो । उहाँले भएको जग्गा–जमिनसमेत बेचेर पैसा तिरेको र अब तिर्न नसक्ने अवस्थामा पुगेकाले न्यायको लागि काठमाण्डौ आएको बताउनुभयो ।

त्यस्तै अर्का मिटर ब्याज पीडित जयप्रकाश कुर्मीले छोरालाई विदेश पठाउनका लागि पैसा आवश्यक भएकाले सुनिल बानियाँसँग एक लाख रुपैयाँ ऋण लिएको बताउनुभयो । बानियाँले एक लाख दिएर दुई लाख रुपैयाँको तमसुक बनाएको बताउनुभयो । बानियाँलाई पाँच लाख पाँच हजार रुपैयाँ दिइसके पनि अहिले आठ लाख रुपैयाँ माग गरेको गुनासो गर्नुभयो । जग्गा बचेर भए पनि पैसा दिन दबाब दिएको तर आफूसँग चार कठ्ठा १५ धुर मात्रै जग्गा रहेको कुर्मीले बताउनुभयो ।

अर्का पीडित रामसुरत गुप्ताले ऋण लिएको पैसा चुक्ता भयो भनेर तमसुक माग्दा समेत नदिएको बताउनुभयो । उहाँले ऋण चुक्ता भएको कागज गरेर पनि आफूहरूको लेखाइ नभएको भन्दै बाँकी पैसा माग्ने गरेको बताउनु भयो । मिटर ब्याजीलाई कारबाही गरेर मात्रै घर जानका लागि आफूहरू काठमाण्डौ आएको उहाँको भनाइ छ ।

आन्दोलनमा आएकाहरूले हजुरबुबाले लिएको ऋण नाती पुस्तासम्म तिर्दा नपुगेर साहुले जग्गासमेत कब्जा गरेर भूमिहीन भएको बताएका छन् । उनीहरूले मिटर ब्याज लिन पाइँदैन–जनता मार्न पाइँदैन, मिटर ब्याज लिनेहरू खबदार, मिटर ब्याज लिनेलाई कारबाही गर्, मिटर ब्याज लिएर जनतालाई सुकुम्वासी र भूमिहीन बनाउन पाइँदैन जस्ता नारा लेखेका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*