पोखरामा नाटक ‘केस नम्बर ३११’ मञ्चनकाे तयारी पूरा

जनपत्र
२ असार २०७९, बिहीबार १२:०४

कास्की – पोखरामा नाटक ‘केस नम्बर ३११’ मञ्चन तयारी पूरा भएको छ । पोखरा थिएटरको प्रस्तुतिमा भाेलि शुक्रवारबाट गन्धर्व नाटकघरमा मञ्चन गरिनेछ । असार ११ गतेसम्म मञ्चन हुने नाटकको लेखन तथा निर्देशन पोखरा थिएटरको ब्याच ४ र ब्याच ५ का प्रशिक्षार्थीले गरेका छन् ।

यो नाटकको परिकल्पना दिव्य अमृत, दिप्सना विश्वकर्मा, सुशील बरालले गरेका हुन् । नाटकमा न्यायाधीशको भूमिकामा झलक थापा, इजलास अधिकृतको भूमिकामा सुशील बराल र मनिषा के.सी, सरकारी वकिलको भूमिकामा अदित भुजेल र निजी वकिलको भूमिकामा एलिसा भोगले अभिनय गरेका छन् ।

यसैगरी कार्यालय सहयोगीको भूमिकामा गोपाल भुषाल, शिखाको भूमिकामा अनामिका रिजाल, जीवनको भूमिकामा प्रतीक राउत, रत्नाको भूमिकामा प्रतिभा रिमाल, छिमेकीको भूमिकामा पाल्मती थापा, प्रहरीको भूमिकामा कमल तामाङ, दिप्सना विश्वकर्मा र सुरज तिवारी तथा मनोचिकित्सको भूमिकामा दिव्य अमृतलाई हेर्न पाइनेछ । नाटककाे निर्देशनमा अधिवक्ता एवम् लेखक दीपक पराजुलीकाे रहेकाे छ ।

हिंसाले पीडितमा पार्न सक्ने मानसिक असरलाई चित्रण गर्ने अभिप्रायले समसामयिक विषयमा नाटक तयार पारिएकाे छ । नाटक हेरिसकेपछि महिला हिंसा र मनोविज्ञानका सम्बन्धमा नयाँ अवधारणा बन्ने विश्वास लिइएकाे छ ।

समयसमायिक विषयमा तयार गरेका कारण दर्शकको माया पाउने सहजकर्ता एवम् पोखरा थिएटरका अध्यक्ष परिवर्तनकाे भनाइ छ । नाटकमा १९ वर्षीय शिखाले भोगेको हिंसा र हिंसाको कारण उत्पन्न मानसिक अवस्थालाई गहन ढङ्गले प्रस्तुत गरिने छ ।

नाटक हरेक दिन बेलुका सवा पाँच बजे मञ्चन गरिनेछ । यसका अलावा शनिवार र आइतवार दिउँसो १ बजे समेत नाटक हेर्न पाइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*