मतदाता नामावली संकलन कार्य शुरू

जनपत्र
२ असार २०७९, बिहीबार ०७:३०

निर्वाचन आयोगले अब हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी बुधबारदेखि मतदाता नामावली संकलन कार्य अघि बढाएको छ । सम्भवतः आउँदो मंसिरमा हुने दुवै तहको निर्वाचनको मतदाता नामावली संकलन कार्यक्रम शुरू भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो । ७७ वटै जिल्लाका प्रशासन कार्यालय, निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली दर्ता गर्न सकिने पनि आयोगले जनाएको छ ।

त्यस्तै, अस्थायी बसोबास गरिरहेको स्थानबाट पनि नामावली दर्ता गर्न सकिने आयोगले जनाएको छ । काठमाडौंमा बसिरहेका उपत्यकाका बाहिरका कुनै जिल्लाको स्थायी मतदाता भएका व्यक्तिले पनि त्यही आफू बसेकै ठाउँमा गएर मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने व्यवस्था पनि गरिएको छ । त्यसरी दर्ता गरिएको नामावली सम्बन्धित जिल्लामा पठाउने पनि आयोगले जनाएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली संकलन कक्ष स्थापना गरी नामावली संकलन गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै काठमाडौं जिल्लाबाहेकका नागरिकको नाम छुटेको भए जिल्ला निर्वाचन कार्यालय अनामनगरमा सम्पर्क गर्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो ।

काठमाडौं बाहिरका नागरिकले पनि काठमाडौंबाटै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन सक्ने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा १८ वर्षमाथिका १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहेका छन् । अब आयोगले त्यस अवधिसम्म नाम छुटेका र त्यसपछि १८ वर्ष भएका नेपाली नागरिकहरूको मतदाता नामावलीमा समेट्नेछ ।

निर्वाचनको मिति घोषणा गरेपछि मतदाता नामावली अद्यावधिक गर्न नहुने कानुनी बाध्यता रहेको जनाउँदै आयोगले प्रदेश र संघको निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्ने कार्यलाई अहिलेको मुख्य प्राथमिकतामा राखेको छ । मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४ मा निर्वाचनको घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनका लागि मतदाताको नाम दर्ता गर्न नमिल्ने प्रावधान रहेको छ । आसन्न प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्न एकदेखि बढीमा डेढदेखि दुई महिनाको समय उपलब्ध हुनेछ ।

निर्वाचनको मिति घोषणा भएको दिनदेखि नाम दर्ता गर्ने काम रोकेर मतदाता नामावली प्रशोधनको काम शुरू गर्ने र सो कामसहित समग्र निर्वाचनको तयारीको काम गर्न आयोगलाई १ सय २० दिन समय लाग्नेछ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐनको आधारमा निवार्चित भएको अवधिबाट कार्यकाल पाँच वर्ष भनिएकाले आयोगले मंसिर २२ लाई कार्यकाल सकिने दिन भनेको छ । यसले गर्दा कार्तिक मसान्तदेखि मंसिरको दोस्रो सातासम्ममा निर्वाचन गराउनुपर्ने प्रस्ताव आयोगले अघि सारेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*