शान्ति प्रकिया टुङ्ग्याउन र सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा लान कानुन संशोधन गरिने

काठमाण्डाै – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधनको विधेयक संसद्को चालु अधिवेशनमा पेस गरिने जानकारी दिनुभएको छ ।
प्रतिनिधि सभाको आज बुधवारकाे बैठकमा सांसद्का प्रश्नको जवाफ दिँदै उहाँले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन र सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा लान प्रदेश सरकारका प्रतिनिधिसँग पनि परामर्शपछि प्राप्त सुझावका आधारमा कानुनमा संशोधन गरिने बताउनुभयो । उहाँले सत्य निरूपण तथा मेलमिलाप आयोगको कामलाई संविधानको मर्म र अन्तर्राष्ट्रिय अभ्यासअनुसार अघि बढाइने बताउनुभयो ।
मन्त्री कोइरालाले छुवाछुत हटाउन कानुनको पालनाका साथै सांस्कृतिक रूपान्तरण र सामाजिक शैक्षिक अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले न्याय र कानुनमा आम नागरिकको सरल पहुँच र स्वामित्व निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
अहिले ५० वटाभन्दा बढी विधेयक संसदमा विचाराधीन रहेको र त्यसलाई छिटो विधेयकमा रूपान्तरण गर्न पहल गर्ने मन्त्री काेइरालाले विश्वास व्यक्त गर्नुभयो ।
यस्तै काठमाण्डाैमा नाबालकसहित न्याय मागेर अनशनमा रहेकी महोत्तरीकी निहारिका राजपुतको समस्याका बारेमा सरकार गम्भीर रहेको मन्त्री कोइरालाले बताउनुभयो । उहाँले निहारिकाको घटनाका विषयमा अदालतमा मुद्दा विचाराधीन रहेकाले त्यसको प्रतीक्षा गर्नुपर्ने र अन्य वैकल्पिक समाधानका उपायबारे छलफल गर्न सरकार तत्पर रहेको स्पष्ट गर्नुभयो ।