नेपाल र अमेरिकाको म्याच टाई
आईसीसी विश्वकप लिग २ अन्तर्गत अमेरिकाका जारी त्रिकोणात्मक सिरिजमा शनिबार राति भएको नेपाल अमेरिकाको खेल टाई भएको छ। अन्तिमको दुई बल बाँकी रहेको अवस्थामा अमेरिकालाई जितका लागि एक रन चाहिएको हुँदा नेपाली बलर मोहम्मद आदिल आलमले दुई विकेट लिएपछि उक्त खेल टाई भएको हो।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले चार बल बाँकी रहँदै सम्पूर्ण विकेट गुमाएर २७४ रन बनाएको थियो। जवाफमा अमेरिकाले पुरा ५० ओभर खेल्दै छ विकेटको क्षतिमा २७४ रनको बराबरी गरेपछि म्याच टाई भएको हो। शनिबार राति ओपनिङमा आएका कुशल भुर्तेलले १९ रन बनाए भने आसिफ शेखले ६१ रनको योगदान दिएका थिए। उनले ६ चौकाको सहयोगमा सो रन जोडेका हुन्।
त्यस्तै, देव खनालले ५४ रन बनाउँदा रोहित पौडेलले सर्वाधिक ६२ रन बनाएका थिए। पौडेलले त्यसक्रममा ७२ बलमा तीन चौका र एक छक्का प्रहार गरेका थिए। नेपालविरुद्ध अमेरिकाका रस्टी थेरनले चार विकेट गिरा एभने अली खान र सैरभ नेत्राभल्करले पनि समान २(२ विकेट लिए। जवाफमा अमेरिकी ओपनर स्टेवेन टेलरले ११४ रन बनाए भने मोनांक पटेलले ८५ रनको योगदान दिए। नेपालका लागि आदिल खानले तीन विकेट गिराएका थिए। सोमपाल कामी र सन्दिप लामिछानेले समान १-१ विकेट गिराए।
यो खेलबाट दुवै टिमले समान १-१ अंक बाँडेका छन्। यससँगै नेपालले १४ खेलबाट १३ अंक बनाएको छ। त्यस्तै, अमेरिकाले २२ खेलबाट २१ अंक बनाएको छ। नेपाल तालिकाको पुछारबाट दोस्रो स्थानमा छ।गएरातिको खेलमा मोहम्मद आदिल खानले नेपालको सिनियर टिमबाट डेब्यु गरेका थिए। नेपाली सिनियर टिमबाट एक दिवसीय खेल्ने आदिल ३२औं खेलाडीसमेत भएका छन्।