मन्त्री फेर्ने हाम्राे पार्टीकाे निर्णय सरकारले तुरुन्त कार्यान्वयन गर्नुपर्छ : खनाल
काठमाण्डाै – सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिनुभएको छ ।
आज शुक्रवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सम्मानित नेता खनालले पार्टीको तर्फबाट मन्त्री हेरफेर गर्ने निर्णय अझै कार्यान्वयन नभएकोमा आपत्ति जनाउँदै तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री देउवालाई दबाब दिनुभएको हो ।
आफ्नो पार्टीले मन्त्री हेरफेर गर्ने निर्णय गरिसकेकाले गठबन्धन सरकारले त्यसलाई तुरुन्त कार्यान्वयन गर्नुको विकल्प नरहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘मैले धेरै पटक यसको जवाफ दिइसकेँ, यसमा हाम्रो पार्टीको तर्फबाट गम्भिर आपत्ति छ । यो तुरुन्त लागू हुनुपर्छ । नेकपा (एकीकृत समाजवादी) ले गर्नुपर्ने निर्णय गरिसकेको छ । यसलाई गठबन्धन सरकारले तुरुन्त कार्यान्वयन गर्नुपर्छ । अरू कुनै विकल्प छैन ।’
नेता खनालले कमसेकम देशको अग्रगमन हुने गरी आउँदाे आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बजेट बाँडफाँटका विषयमा कतिपय कुराहरू नमिलेको भन्दै त्यसलाई मिलाउन पनि सरकारसँग माग गर्नुभयो ।