भैंसी र पाडापाडी पाल्नमा लाग्दै किसान, आमदानी पनि राम्रो

जनपत्र
२५ जेष्ठ २०७९, बुधबार १७:४८

हेटौंडा । चितवन रत्ननगरका सुदर्शन रिजालले भने व्यवसायिक रुपमा भैंसी र पाडापाडी पाल्न थाल्नुभएको छ । एक वर्ष भयो उहाँले यो व्यवसाय रोज्नुभएको । अहिले उहाँको फार्ममा सानाठुला ५० वटा पाडा र १५ वटा भैंसी छन् । अहिले १३ वटा भैसिले दैनिक १ सय ३० लिटरभन्दा बढी दुध दिन्छ । व्यापारीले घरमै आएर ९० रुपैंया लिटरमा दुध लिएर जान्छन् । दानापानी, पराल, कर्मचारिको तलब आदी खर्चको व्यवस्थापन त्यहि भैंसिको दुध विक्रिबाट भैरहेको छ ।

पाडापाडीबाट भने एकमुष्ट आम्दानी हुने उहाँले बताउनुभयो । करिब ३ बर्ष पालेपछि पाडापाडी प्रतिगोटा १ लाख ५० हजारमा विक्रि गर्न सकिने उहाँको भनाई छ । पाडापाडीले आम्दानी दिन बाँकि रहेकै अवस्थामा पनि हाल सबै खर्च र बैंकको ऋणको किस्ता समेत तिरेर ५० हजार रुपैंया जोगाउन सफल हुनुभएको छ उहाँ । फार्ममा ६ जनाले रोजगारी समेत पाएका छन् । उहाँको व्यवसायले राम्रो गरेको देखेर पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेश हेटौंडा अन्तर्गतको भेटेरनिरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र, चितवनले ५ लाख रुपैंया अनुदान उपलब्ध गराएको छ । यो अनुदान रकमबाट उहाँले गोठ निर्माण गर्नुभयो । व्यवसाय सफल बनाउन उहाँ आँफै दिनमा एक पटक बिहान सबै काम आँफै गर्नुहुन्छ ।

चितवन रत्ननगर–६, बछ्यौली, सुदर्शन रिजाल भन्नुहुन्छ–‘मैंले हेर्ने भनेको कुनै बिरामी छ÷छैन । कुनलाई कति खान दिने । त्यो रेसियो म आफु हेर्छु । र स्टाफलाई यो–यो दरले खुवाउ । मकहाँ अहिले ८ लिटर दिने भैंसी पनि छ । एउटै भैसी १२ लिटर दुध दिने पनि छ ।

८ लिटर दिनेलाई जति खुवाउनुपर्छ १२ लिटर दिनेलाई त्यो भन्दा बढी खुवाउनुपर्छ । त्यो हिसाबले म आफुले सुरुमा ह्याण्डिल गर्छु । उनीहरुलाई सिकाउँछु । र बिहानको निरिक्षण म आफुले गर्छु । कुनले खाएको छ÷छैन बिहानको दानापानी खुवाउने काम र बिहान २–४ वटा भैंसी दुहुने काम म आँफैले पनि गर्छु । अब यसमा मान्छे लाउनु भन्दा मेसिन पटि जानुपर्छकी ?’


व्यावसायीक रुपमा बाख्रा पालनमा थपीदै किसान, अनुदान पाउँदा उत्साहित

दुइ सय ५० रोपनीको फराकिलो बारी । किबीका साना–साना बिरुवा, अरु फलफूलका हुर्कदै गरेका साना बिरुवा, त्यस भन्दा पर रुख र बिभीन्न जातका घासै घाँसले घेरीएको बारी । तीन वटा बाख्राका खोर र संगैको घर । खोरमा पालीएका स्थानीय लोकल जातका एक सय २५ वटा बाख्रा र बोएर जातको बिउको एउटा बोका ।

रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नम्बर–२ हिलेचौरमा खाँडादेवी बहुउदेस्य कृषि तथा पशुपालन फार्ममा पुग्दा यस्तै देख्न पाइन्छ । दश जना युवा मिलेर दुइ वर्ष अगाडी बाख्रा पालन सुरु गरेका छन् । पालीएका बाख्रा खोरमा मात्र पालिदैन । आफ्नै जग्गामा चरन पनि गरिदै आएको फार्मका संचालक तेजबहादुर बोहोरा वताउनुहुन्छ ।

१५ वर्षका लागि भाडामा लिएको जग्गामा बाख्रा पालन, कुखुरा पालन र फलफूल खेतीगर्नेगरी काम थालिएको उहाँ वताउनुहुन्छ । कुल एक करोड २० लाख रुपैयाँ लागतमा फार्म सुरु गरिएको वताउँदै उहाँ भन्नुहुन्छ–‘ हामी सबै युवा मिलेर स्वदेशमानै केही काम गरौ भनेर फार्म खोलेका हौं । भर्खर सुरु गरेपनि यसबाट आमदानी लिन थालिसकेका छौं । बोका र खसी बिक्रीबाट राम्रै आमदानी हुन थालेको पनि छ ।’

फार्ममा पाँच जनाले रोजगारी समेत पाएका छन् । खसी र बोका बिक्रीमा खासै समस्या नरहेको उहाँ वताउनुहुन्छ । व्यावसायीक रुपमा बाख्रा पालन गर्ने युवाका लागि थप उत्साह थप्नका लागि बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाले बृहतर बाख्रा अनुसंधान बिकास तथा विस्तार कार्यक्रम अन्तरगत बितेको आर्थिक वर्षमा २३ लाख ७५ हजार रुपैयाँ अनुदान रकम उपलब्ध गराएको थियो । यो अनुदानले काम गर्नका लागि आफुहरुमा हौसला थपेको उहाँ वताउनुहुन्छ । यो कार्यक्रम निकै प्रभाबकारी भएको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमलाई प्रभाबकारी रुपमा अगाडी वढाउनका लागि उहाँको आग्रह छ ।

मकवानपुर चुनियाका रामेश्वर गोपाली सहितका १० जना मिलेर दुई बर्ष अघि आधुनिक तरिकाबाट बाख्रा पालन सुरु गर्नुभयो । गाउँघरमा जिविकाका लागि पालिने २/४ वटा बाख्राबाट खासै फाइदा लिन नसकिने देखिएपछि उहाँले व्यवसायिक रुपमा धेरै बाख्रा पाल्ने निधो गर्नुभएको थियो । चाहिनेजति लगानी एक्लै जुटाउन सकिने अवस्था थिएन । त्यसैले १० जनाको टिम बनाएर लगानी जुटाउनुभयो र २ सय वटा बाख्रा पाल्न सकिने क्षमताको गोठ बनाउनुभयो । यो गोठ बनाउन ५० लाख रुपैंया भन्दा बढी खर्च भएको छ । उहाँहरुले ८० वटा बाख्रा राखेर फार्मको सुरुवात गर्नुभएको थियो । अहिले सय वटा बाख्रा छन् ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेश हेटौंडाले पनि उहाँहरुको प्रगती व्यावसायीक बाख्रापालन समुहका लागि २४ लाख ७५ हजार रुपैंया अनुदान स्वरुप उपलब्ध गराएको छ । सरकारको सहयोगले उहाँहरुलाई व्यवसायिक रुपमा बाख्रा पालन गर्ने हिम्मत अझ वृद्धि भएको छ ।

प्रगती व्यावसायीक बाख्रापालन समुहका अध्यक्ष रामेश्वर गोपाली भन्नुहुन्छ–‘ अनुदान रकमपछी काम गर्नका लागि हौसला मिलेको छ । काम गर्नका लागि आर्थिक सहयोग जुटेपछी हामिले थप लगानी गरेर काम गरेका हौं । सबै बोएर जातका बाख्रा पालेका हौं । लोकल र बोएर जातका बाख्रा पालन गरेका छौं । यहाँ जग्गामा घाँस समेत रोपेर बाख्रा पालनमा थप सहयोग पुगेको छ ।’

मकवानपुरगढी गाउँपालिका वडा नंम्बर–२ भालुन्टारका नवराज ढकाल ब्यवसायिक बाख्रा पालनमा रमाउन थाल्नु भएको छ । उहाँ एकाविहानै नजिकैको जंगल तिर बाख्राका बथान लिएर जाने उहाँको दैनिकी हो । बाख्रापालनमा राम्रो आम्दानी हुने देखेपछि बिदेश जानको लागि बनाएको पासपोर्ट अहिले उहाँको सिरानीमा छ । हाल उहाँको बाख्राखोरमा ४८ वटा बाख्रा रहेका छन् । जसमा २० वटा माउबाख्रा रहेका छन् ।

विक्री गर्नका लागि उपयुक्त भएका १० वटा खसीबोका छन् भने १८ वटा पाठापाठी छन् । तीन देखि पाँच लाख बार्षिक आम्दानी गर्ने लक्ष्य सहित ब्यावसायिक रुपमा बाख्रापालन गर्न लागिएको उहाँ वताउनुहुन्छ । २०७२ सालको भुकम्पले ढकालको घर भत्कियो । उहाँले राहत स्वरुप १५ हजार रुपैयाँ र जस्ता पाउनुभयो । त्यही १५ हजार हात परेपछि विदेशीन पासपोर्ट बनाउन पुगेका ढकाल अहिले आफुले गर्दै आएको ब्यवसायलाई थप ब्यवस्थित तरिकाले गर्नसके विदेशमा कमाइने पैसा गाउँघरमै परिवारको साथ बसेर कमाई गर्न सकिने भन्दै युवापिंढीलाई सुझाव दिन थाल्नुभएको छ ।

१० बर्ष पहिले एउटा मात्रै बाख्रा रहेको उहाँको खोरमा अहिले ४८ वटा बाख्रा हुँदा उहाँ गाउँका उदाहरणीय किसानको रुपमा परिचित हुनुभएको छ । शुरुमा एउटा मात्रै बाख्रा हुँदाको कुरा सम्झदै भन्छनुहुन्छ– “यसरी बाख्रा पालिन्छ होलाभनेर सोचेको पनिथिइन । यसलाई थप ब्यवस्थि बनाएर लैजाने इच्छा छ । तर, बन्दाबन्दीले ब्यवसायमा प्रभाव परेको छ ।”

हाल सम्म कही कतैबाट बाख्रा पालनमा उहाँले अनुदान रकम लिनु भएको छैन । तर, लगनशिलता मेहनतको भने कमी छैन । काम गर्दा सरकारको अनुदान आउने ग्यारेन्टी भन्दा पनि आफै मेहनत गर्ने र त्यसमा थप गर्नका लागि सरकारसंगको सहयोगबाट अगाडी बढ्ने सोच उहाँको छ । कामै सुरु गर्दा देखिनै अनुदान लिएर मात्र काम थाल्नेहरुलाई उहाँ गतिलो उदाहरण बन्नु भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*