बागमती प्रदेशका जिल्लाहरुमा देखियो अफ्रिकन स्वाइन फिभर, हाल सम्म १०१९ वटा सुंगुर तथा बंगुरको मृत्यु

हरि हुमागाईं
२२ जेष्ठ २०७९, आईतवार ०९:००

हेटौंडा । बागमती प्रदेशका जिल्लाहरुमा अफ्रिकन स्वाइन फिभर रोग देखा परेको छ । हाल सम्म १ हजार १९ वटा सुंगुर तथा बंगुरको यो रोगबाट मृत्यु भइसकेको छ । कुखुरामा बर्डफ्लुरोगको संक्रमण बढ्दै गएको बेलामा अहिले भने फेरी अफ्रिकन स्वाइन फिभर देखा परेको हो ।

संक्रमणबाट हालसम्म काठमाण्डौको कागेश्वरी मनहरा, किर्तिपुर,चन्द्रागिरी, टोखा र दक्षिणकालीमा देखा परेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लगनखेल, ललितपुरका प्रमुख डाक्टर राम प्रकास प्रधानले जानकारी दिनुभयो । यसैगरी ललितपुरको गोदावरी भक्तपुरको चाँगुनारायणमा यो रोग देखा परेको र सुंगुर तथा बंगुरको मृत्यु भएको हो । तीन वटै जिल्लामा जम्मा १ हजार १९ वटा सुंगुर तथा बंगुरको मृत्युभै सकेको तथ्याङ्क संकलन भएको भएपनि यसको दोब्बर संख्यामा बंगुर तथा सुंगुरहरुको मृत्यु भएको अनुमान गरिएको उहाँले बताउनुभयो ।

अफ्रिकन स्वाइन फिभर कस्तो रोग हो ?

अफ्रिकन स्वाइन फिभर बंगुर, सुँगुर तथा बँदेलमा एक प्रकारको भाइरसबाट लाग्ने संक्रामक महामारी रोग हो। खोर वा फार्ममा रहेका शत प्रतिशत बंगुर्, सुँगुरहरू मार्न सक्ने हुनाले यो रोग आर्थिक हिसाबले महत्वपूर्ण छ। अफ्रिकाको रैथाने यो रोग युरोप हुँदै सन् २०१८ मा चीनमा देखिए पछी एसियाका विभिन्न्न मुलुकहरू हुँदै सन् २०२० को मे महिनामा भारतको आसाम राज्यमा देखा परेको थियो। यससँगै नेपालमा समेत यो रोगको जोखिम बढेको छ। यो भाइरस निकै प्रतिरोधी हुन्छ। यो भाईरस पशुबाट मानिसमा सर्दैन । त्यसकारण बंगुर, सुँगुर र बँदेल मरेमा वा मरेको थाहा भएमा नजिकको पशु सेवा शाखा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पशु क्वारेन्टाईन चेकपोष्ट वा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा यथाशीघ्र खबर गर्न पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका डाक्टर बबलु ठाकुरको सुझाब छ ।

अफिकन स्वाइन फिभर रोग कसरी सर्छ ?

अफ्रिकन स्वाइन फिभर बंगुर, सुँगुर तथा बँदेलमा एक प्रकारको भाइरसबाट लाग्ने संक्रामक महामारी रोग रहेको बागमती प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका डाक्टर बबलु ठाकुरले बताउनुभयो । यो भाइरस बंगुर प्रजातिका पशुको काँचो मासु, फ्रोजन मासु, साँधेको मासु, सुकुटी वा राम्ररी नपाकेको मासु, मलमूत्र तथा सिनोमा महिनौंसम्म बाँच्न सक्छ। यो भाइरस फ्रोजन मासुमा १५ हप्तासम्म, प्रशोधित मासुमा ३ देखि ६ महिनासम्म बाँच्न सक्छ। यो भाइरस ६० डिग्री सेन्टिग्रेडमा ३० मिनेटभित्र निस्क्रिय हुन्छ। संक्रमित सुँगुर, बंगुर तथा बँदेलबीच प्रत्यक्ष संसर्गबाट सर्ने गर्दछ । रोगी पशुको आयाल, रगत, मलमूत्र, मासु वा यिनीहरूको लसपसमा आएका दानापानी लगायतका सामग्री मार्फत् रोगी बंगुर, सुँगुर तथा बँदेलको ओसारपसार र किनबेच मार्फत् हुने गरेको छ । संक्रमित खोरमा गएका मानिसहरूको कपडा, जुत्ता, चप्पल आदि मार्फत् पनि सर्दछ ।

अफिकन स्वाइन फिभर रोगका लक्ष्णहरु के के हुन ?

२०७८ चैत १६ गते कागेश्वरी मनोहरा क्षेत्रको बंगुरमा प्रथम पटक देखिएको नमुना अष्ट्रेलिया पठाई थप पुष्टी समेत गरिएको डाक्टर प्रधानले बताउनुभयो । नेपालमा हालसालै भित्रिएको यसैक्षेत्रमा देखा परेको थियो । यस रोगमा बंगुर प्रजातिमा अत्याधिक मृत्युदर हुने, सबै उमेरका बंगुरमा देखिने र जंगली बँदेलमा समेत सर्ने गरेको पाइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लगनखेल, ललितपुरका डाक्टर श्रीजा वाग्लेले जानकारी दिनुभयो ।

छिटो सर्ने संक्रामक प्रकृतिको रुपमा यो रोग देखा परेको छ । हालका मितिसम्म काठमाण्डौ उपत्यकाका ३ वटै जिल्लामा ठुलो संख्यामा बंगुर तथा सुंगुरहरुको मृत्यु भएको पाइएको वाग्लेले बताउनुभयो । काठमाण्डौं उपत्यकाका तीन जिल्लामा देखिएका सुंगुर तथा बंगुरहरुमा धेरै प्रकारका रोगका लक्षणहरु देखा परेको छ । उनीहरुमा उच्च ज्वरो आउने गरेको छ । संगुर तथा बंगुरमा १०४ डिग्री वा त्यस भन्दा माथि ज्वरो आएको पाइएको छ ।

झोक्राएर बस्ने र दानापानी खान छोड्ने, साँस फेर्न अप्ठेरो हुने, दिशामा रगत देखिने, कानका टुप्पाहरू, खुट्टाहरू तथा शरीरको अन्य भाग विशेषगरी पेटको भागको छालामा रगत जमेका कालो निलो डामहरु देखिने, बान्ता गर्ने, नाकमा रगत मिसिएको सिँगान जस्तो आउने, छेर्ने, बच्चा तुहिने, प्राय वयस्क बंगुरमा यस रोगको प्रकोप ज्यादा देखिएको र लक्षण देखिएको २, ३ दिनमा मृत्यु हुने गरेको डाक्टर प्रधानले जानकारी दिनुभयो ।

अफ्रिकन स्वाईन फिभर रोगको रोकथाम

अफ्रिकन स्वाईन फिभर रोगको हाल सम्म उपचार छैन । यसको भ्याक्सिन पनि उपलब्ध छैन । यसको रोकथाम गर्नका लागि सुंगुर बंगुर तथा बँदेलको ढुवानीमा निगरानी गर्नुपर्ने चिकित्सकको सुझाब छ । संक्रमित क्षेत्रबाट पशु अन्यत्र नलैजान डाक्टर बबलु ठाकुरको सुझाब छ । संक्रमित सुंगुर बंगुर तथा बँदेलको मासु बेच बिखन नगर्ने ,निसंक्रमण ढुवानी माध्यम, संक्रमित कपडा, औजार लगायत जैविक सुरक्षाको अबलम्बन, मरेको पशुको उचित ब्यवस्थापन तथा निसंक्रमण गर्नुपर्ने हुन्छ । त्यसैगरी रोगी पशुहरू मानवीय तरिकाले नष्ट गर्ने, पशुलाई होटल रेष्टुराको फोहर नखुवाउने, क्वारेन्टाईनमा कडाई गर्ने काम गर्न पशु चिकित्सकहरुले सुझाब दिएका छन् ।

हालसम्म यो रोग विरुद्ध औषधि तथा खोप समेत बनेको छैन । त्यसकारण जैविक सुरक्षाका उपायहरू अपनाई रोकथाम गर्नु एक मात्र उत्तम विकल्प हो । बंगुर, सुँगुर र बँदेलको खोरमा मानिसहरुको अनावश्यक आवतजावत नगर्ने, होटल, रेष्टुरेन्टबाट फालिएका खानेकुरा बंगुर, सुँगुर र बँदेललाई राम्रोसँग पकाएर मात्र खुवाउनुपर्छ । बंगुर, सुँगुर र बँदेल थुनेर मात्र पालौं, घरपालुवा बंगुर र सुँगुरलाई जंगली बँदेलसँग सम्पर्क हुन, रोगी बंगुर, सुँगुर र बँदेलको मासु, सुकुटी तथा वातावरणमा भाइरस लामो समयसम्म बाँच्ने भएकोले मरेका बंगुर, सुँगुर र बँदेललाई गहिरो खाडल खनी गाड्ने गर्नुपर्छ । अन्य बथानबाट ल्याइएका बंगुर, सुँगुर र बँदेललाई २१ दिन पछि मात्र आफ्नो बथानमा मिसाउने गरौ ।

पशु सेवाका निकायहरूले मृत अवस्थामा भेटिएका बंगुर, सुँगुर बँदेलबाट नमूना संकलन गरी प्रयोगशाला परीक्षणको लागि पठाउन सुझाब दिएका छन् । बंगुर खरिद गर्दा आधिकारिक तथा विश्वसनीय श्रोतबाट मात्र खरिद गर्न चिकित्सकहरुको सुझाब छ । बंगुरपालन व्यवसायको अभिलेखीकरण गर्ने गर्न पनि सुझाब दिइएको छ । पशु हाट बजार, संकलन तथा विक्री केन्द्रहरूमा विरामी पशुहरूलाई स्वस्थ पशुसँग नमिसाउन र सरसफाइ र जैविक सुरक्षाका उपायहरू अवलम्बन गर्न पनि सुझाब दिइएको छ । बंगुर, सुँगुर र बँदेलको ओसारपसार गर्दा भेटेरिनरी स्वास्थ्य प्रमाण पत्र अनिवार्यलिने गर्न आग्रह गरिएको छ । यस रोगको हालसम्म कुनै संक्रमित मुलुकबाट बंगुर तथा बंगुरको मासुजन्य पदार्थ आयात गर्दा यो रोग फैलिन सक्ने सम्भावना रहेकोले त्यस्ता मुलुकहरूबाट बंगुर प्रजातिका पशुहरूको मासु तथा मासुजन्य पदार्थ आयात नगर्न पशु विज्ञ केन्द्रहरुले सुझब दिएका छन् ।

अफिकन स्वाइन फिभर रोग नियन्त्रणका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट गरिने प्रयासहरु के के हुन ?

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट रोग नियन्त्रणका लागि गरिने प्रयासहरु पनि भएका छन् । रोग बारे सम्पूर्ण सरोकारवाला किसानहरुसंग अन्तर्कृया कार्यक्रम गरिएको डाक्टर राम प्रकास प्रधानले बताउनुभयो । यस रोगको नियन्त्रणका लागि जैविक सुरक्षाका उपायहरु अवलम्बन गर्न आवश्यक सूचना एंव जनचेतनामूलक सामाग्रीहरु तयार गरी व्यापकरुपमा प्रचार प्रसार गरिने भएको बिज्ञ केन्द्रले जनाएको छ । काठमाठौं उपत्यकामा रहेका वंगुर फार्महरुको अभिलेखिकरणगर्ने काम भइरहेको छ । काठमाठौं उपत्यकाका कुनैपनि स्थानमा रोगका लक्षणहरु देखिएको पाईएमा तुरुन्तै सो स्थानमा पुगि रोग नियन्त्रण तथा रोकथामका लागि आवश्यक सहजिकरण गरिने भएको उहाँले बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*