औद्योगिक क्षेत्रलाई प्रदेशमातहत ल्याउन जरुरी छ : मुख्यमन्त्री पाण्डे

जनपत्र
२० जेष्ठ २०७९, शुक्रबार २०:५०

मकवानपुर — वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार पाण्डेले औद्योगिक क्षेत्र प्रदेश मातहतमा ल्याउन जरुरी रहेको औंल्याएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ वाग्मती प्रदेशको पाँचौं प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले संघीय सरकार मातहत रहेका प्रदेशभित्रका चारवटा औद्योगिक क्षेत्रलाई प्रदेश मातहत ल्याउन जरुरी रहेको बताए ।

‘औद्योगिक क्षेत्रलाई प्रदेश मातहतमा ल्याएर उत्पादनमूलक उद्योग खोल्ने वातावरण तयारी गर्न जरुरी छ ।’, उनले भने,‘औद्योगिक क्षेत्रमा संघीय सरकारको ध्यान पुगेको छैन । हामी मातहत ल्याएर त्यसलाई थप व्यवस्थित गर्न जरुरी छ ।’ उनले हेटौंडाको मयुधाप, चितवनमा शक्तिखोर र सिन्धुलीको मरिण नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी भइरहेको समेत बताए ।

मुख्यमन्त्री पाण्डेले औद्योगिक क्षेत्रका मजदुरलाई तालिम दिएर मात्र काममा लगाउन उद्योगीहरुलाई आग्रह गरे । ‘उद्योग पाठशाला खोल्नु अहिलेको आवश्यकता हो । मजदुरका लागि आवश्यक तालिम सञ्चालन गरेर हामीले दक्ष कामदार निकाल्न जरुरी छ,’ उनले भने । उनले चितवन उद्योग वाणिज्य संघलाई उद्योग पाठशाला खोल्न दस लाख रुपैयाँ सहयोग गरिसकेको बताए ।

उनले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न र कृषि क्षेत्रको उत्पादन बढाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्न तयार रहेको बताए । ‘उद्योगहरूले भनेअनुसार नीति नियम हामी दिन्छौं । तपाईंहरू लगानी गर्न आउनुहोस्,’ उनले उद्योग मैत्री वातावरण तयार पार्न प्रदेश सरकार तयार रहेको बताए । इकान्तिपुरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*