पशुपालनबाट मनग्य आमदानी लिदै बागमती प्रदेशका किसान

हेटौंडा । घाँसमा आधारित भएर पशुपालन गर्ने किसानमध्येका एक हुन् मकवानपुरगढीका गाईपालक किसान प्रेमप्रसाद दाहाल । हरियो घाँस खुवाउन सकिएन भने नाफा लिन सकिदैन भन्ने बुझेर उहाँले आफ्नै २ विगाह जग्गामा र १ विगाह जग्गा लिजमा लिएर घाँस लगाउनुभएको छ । २०६८ सालदेखि गाईपालन गर्नुभएका किसान दाहालले गाई, गोठ र घाँसका लागि ५० लाख रुपैंया लगानी गर्नुभएको छ ।
बाहृैमास हरियो घाँस उपलब्ध गराउन सम्भव नहुन पनि सक्छ । यस्तो अवस्थामा पशुलाई साइलेज खुवाएर हरियो घाँस खुवाए सरहनैं दुध उत्पादन लिन सकिन्छ । घाँस उत्पादन हुने सिजनमा बढी भएको हरियो घाँसलाई हिउँदमा खुवाउनका लागि साइलेज बनाइन्छ । सुख्खायाममा घाँसको अभावमा दूध उत्पादन घट्ने हुँदा पहिले नैं तयार पारेर राखिएको साइलेज पशु आहाराका लागि उपयोगि मानिएको छ । हरियो घाँसमा भएकोे पौष्टिक तत्वहरु साइलेजमा पनि लगभग उत्तिकै रहन्छ । मकै, नेपियर, ज्वार, टियोसेण्टी, बोडी लगायतका कुनै पनि घासबाट साइलेज बनाउन सकिन्छ । प्राविधिकसँग सल्लाह गरेर कार्बोहाइड्रेट बढी पाइने घाँसहरुबाट साइलेज बनाउनु उपयुक्त हुन्छ । साइलेज बनाउनको लागि घाँस काट्ने उपयुक्त समय भनेको मकै, जै, ज्वारमा गेडामा दूध पसेको बेला र टियोसेण्टीमा ५० प्रतिशत बोटमा फूल फुिलसकेपछि र स्थानीय घासहरुलाई फूल फल्ने बेलामा काट्नु उपयक्तु हुने प्राबिधिकहरु बताउँछन् ।
स्वच्छ र स्वस्थ दुध उत्पादनका लागि पशु स्वास्थ्यमा ध्यान दिनु उत्तिकै जरुरी छ । संक्रामक रोगहरु र परजीविबाट पशुजन्य उत्पादनमा असर परिरहेको हुन्छ । नेपालमा विशेषगरी थुनेलो रोग, पटके रोग, क्षयरोग, भ्यागुते रोग, ब्रुसेलोसिस रोग, खोरेत, नाम्ले जुगा, चरचरे जस्ता रोगहरुले पशुलाई दुःख दिनेगरेको छ । पशुमा लाग्ने केहि रोगहरु मानिसमा पनि सर्ने भएकाले जनस्वास्थ्यमा पनि खतरा रहन्छ । त्यसैले उपयुक्त समयमैं रोगको पहिचान गरि उपचार गर्नुपर्छ । किसानहरुले सकेसम्म रोग लाग्नै नदिन पशुचिकित्सकसँगको सल्लाह बमोजिमको उपाय अबलम्बन गर्नुपर्छ ।
स्वच्छ र सफा दूध उत्पादनका लागि अर्को महत्वपुर्ण पक्ष भनेको सरसफाई हो । रोगी र सरसफाइमा ध्यान नदिइएका पशुबाट उत्पादित दूध तथा दुग्द्यजन्य पदार्थ स्वस्थ्यका लागि राम्रो मानिदैन । स्वस्थ दुध उत्पादनका लागि पशु स्वास्थ्यको ख्याल गर्नुपर्छनैं पशुको शरिरको बाहिरि भागको पनि सरसफाई उत्तिकै महत्वपुर्ण हुने छ ।
दुध दुहुनु अगाडी पशुको शरिरमा भएको गोबर तथा फोहरहरु पानि र ब्रशले सफा गर्नुपर्छ । खासगरि पशुको पछिल्लो भाग राम्रोसँग सफा गर्नुपर्छ । सरसफाईमा ध्यान दिन सकियो भने पशुबाट स्वस्थ उत्पादन लिन सकिन्छ । साथै रोगव्याधी समेत नियन्त्रणमा आउने मकवानपुरगढीका किसान नारायण प्रसाद तिमल्सिनाको अनुभव छ ।
उहाँको फार्ममा ५५ वटा गाई छन् । यसलाई बढाएर २ सय वटा गाई पु¥याउने योजनामा हुनुहुन्छ उहाँ । यहाँबाट उत्पादित दुध गाउँनजिकै रहेको मनकामना दुग्द्य उत्पादक सहकारी संस्थाले खरिद गर्ने गरेको छ । २०४२ सालमा हेटौंडा दुग्द्य वितरण आयोजनाको संकलन केन्द्रको रुपमा स्थापना भएको यो सहकारीले त्यतिबेला दैनिक १ सय २० लिटर मात्र दुध संकलन गर्दथ्यो । अहिले भने दैनिक ४ हजार लिटर दुध संकलन हुन्छ ।
सहकारीले दैनिक संकलन गरेको दुध हेटौंडा, काठमाण्डु र चितवनका निजि डेरि उद्योगले खरिद गर्नेगरेका छन् । संकलन गरिएको दुधलाई चिलिङ भ्याटमा ३ डिग्रि तापक्रममा भण्डारण गर्ने गरिएको छ भने स्टेनलेस स्टिल इन्सुलेटेड ट्यांकरबाट दुधको ढुवानी गरिँदै आएको छ । गाउँमै दुध संकलन हुन थालेपछि दुधको व्यवसायबाट पनि जिविकोपार्जन गर्न सकिन्छ भनेर किसानहरु गाईभैंसी पालनमा आकर्षित भएका थिए । अहिले २ सय १५ किसान परिवारले यस सहकारी मार्फत दुधको कारोबार गरिरहनुभएको छ । दुध उत्पादनमा किसानलाई आकर्षित गर्न सहकारीले पशु बीमा, कृत्रिम गर्भाधान, पशु आहाराको व्यवस्थापन, अनुदान, दशैं खर्च, बचत तथा ऋण जस्ता कार्यक्रम सञ्चालन गरेको छ । त्यसैले यहाँ पशुपालनले व्यवसायिक रुपनैं लिएको मनकामना दुग्द्य उत्पादक सहकारी संस्था लिमिटेडका बलराम हुमागाईं बताउनुहुन्छ ।
चितवनको अन्नपुर्ण दुग्द्य उत्पादक सहकारी संस्था २०४१ सालमा डिडिसिको विक्रि केन्द्रको रुपमा स्थापना भएको थियो । त्यतिबेला ५० जना सदस्यबाट १३० लिटर दुध संकलन हुन्थ्यो । २०४९ सालमा दुध संकलन केन्द्रलाई सहकारीमा दर्ता गरियो । त्यसपछि सहकारीले किसानहरुलाई व्यवसायिक रुपमा दुध उत्पादनमा लाग्न किसानहरुलाई जागरुक गराएको थियो । सहकारीले अहिले दैनिक ४ हजार ५ सय लिटर दुध र दुधको उत्पादन प्रशोधित दुध, दहि, घ्यू, पनिर, बटर, फ्रेस क्रिम, चिज, खुवा जस्ता परिकार विक्रि गरिरहेको छ । सहकारी आँफैले डेरी उद्योग, नमुना गाई फार्म, दाना उद्योग सञ्चालन गरेको छ ।
यो सहकारीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेशले गएको बर्ष एक करोड रुपैंया अनुदान उपलब्ध गराएको थियो । अनुदान रकमबाट सहकारीले ५ टन प्रतिघण्टा क्षमताको साइलेज सहितको पशु दाना उद्योग स्थापना गरेको छ । दुध उत्पादनका लागि किसानहरुलाई प्रोत्साहन गर्न दुध विक्रिका आधारमा प्रोत्साहन रकम, दुधमा प्रतिलिटर दुई रुपैंया अनुदान, शेयर सदस्यलाई दुध विक्रिको १६ प्रतिशत रकम प्रोत्साहन उपलब्ध गराउँदै आएको छ । नयाँ प्रविधि सहित युवा पुस्ता व्यवसायिक रुपमा पशुपालनका माध्यमबाट दुध उत्पादनमा लाग्ने हो भने प्रशस्त अवसर रहेको सहकारीका अध्यक्ष ऋषिराम चापागाई बताउनुहुन्छ ।
पशुपालन व्यवसायलाई थप व्यवसायिक बनाउन र उत्पादन लागत घटाउन यान्त्रिकरण र प्रविधिमैत्रीमा जानुपर्ने अत्यन्त जरुरी छ । दुध दुहुन तथा घाँस काट्न मेशिनको प्रयोग गरि उत्पादन लागत घटाउन सकिन्छ । चितवनको लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टरले पछिल्लो प्रविधिको प्रयोग गरि गाई पालन गरिरहेको छ । २०७० सालमा स्थापना भएको चितवनकै ठुलो गाईफार्म मध्येको एक, यहाँ अहिले ५८० वटा गाई छन् । गाई फार्मले २० विगाह क्षेत्रफल ओगटेको छ भने घाँस उत्पादनका लागि २२ विगाह जग्गा लिजमा लिईएको छ । यहाँबाट दैनिक करिब दुई हजार लिटर दुध उत्पादन हुन्छ । यहाँ उत्पादन भएको दुध सहकारीले ललिलतपुरमा भएको आफ्नै डेरी उद्योगबाट दुग्धजन्य पदार्थ उत्पादन गरि विक्रिवितरण गरिरहेको लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टरका संचालक कृष्ण भण्डारी बताउनुहुन्छ ।
दुध दुहेपछि सकेसम्म चाँडो संकलन केन्द्रमा पु¥याउनुुपर्छ । दुग्द्य सहकारी, निजि वा सरकारी दुध कम्पनिले दूध संकलन गरेको नजिकको केन्द्रमा दुध पु¥याउन २ घण्टाभन्दा बढी समय लगाउनुहुँदैन । दुध संकलन गर्दा आल्मुनियम वा स्टेनलेस स्टिलको भाँडा अथवा क्यानबाट मात्रै गर्नुपर्छ । संकलन गरिएको दूध कम्तिमा ४ डिग्रि सेन्टिग्रेड तापक्रमसम्म चिस्याएर प्रशोधन उद्योगमा पु¥याउनुपर्छ । यसरि ढृुवानि गर्दा स्टेनलेस स्टिल इन्सुलेटेड ट्यांकर वा रेफ्रिजिरेटेड ट्यांकरमा राखि दूधको तापक्रम १० डिग्रि सेन्टिग्रेड भन्दा बढी हुनुहुँदैन ।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले गएको बर्ष दुध उत्पादक सहकारी संघ सँगको सहकार्यमा दुध उत्पादक सहकारी संस्था सुदृढीकरण कार्यक्रम अन्र्तगत ५ वटा मिल्क एनालाइजर वितरण गरेको थियो । जसका लागि ९ लाख ८० हजार रुपैंया खर्च भएको थियो । चिलिङ सेन्टरका लागि ५९ लाख ९ हजार ५ सय १० रुपैंया लगानीमा १३ वटा सहकारीलाई भ्याट र जेनेरेटर सहयोग गरिएको थियो । ७५ प्रतिशत अनुदानको पशुपालन यान्त्रीकरण कार्यक्रममा २ सय १६ संस्थालाई ६७ लाख ४४ हजार ४५० रुपैंया बराबरको मेशिन तथा प्रविधि उपलब्ध गराईएको थियो । यो कार्यक्रम मार्फत किसानहरुलाई चिलिङ भ्याट, आल्मुनियम मिल्क क्यान, च्याफ कटर, फिड मेशिन, युरिया मोलासेस मिनरल मेशिन, मिल्किङ मेशिन, मिल्क क्यान उपलब्ध गराइएको थियो ।
नमुना गाईपालन कार्यक्रम अन्र्तगत चितवन, सिन्धुली र काठमाण्डुमा मिल्किङ पार्लर प्रविधि भित्राइएको थियो । सामुहिक गाइपालन कार्यक्रम अन्र्तगत ५० प्रतिशत अनुदानमा २ वटा गाई फार्मलाई १०÷१० लाख रुपैंया अनुदान उपलब्ध गराईएको थियो । यसैगरी दुग्द्य उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्र्तगत १ सय ९८ संस्थालाई ८ करोड ९ लाख ३३ हजार २ सय ८२ रुपैंया उपलब्ध गराइएको थियो । गएको बर्ष दुग्द्य उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्र्तगत प्रतिलिटर १ रुपैंया अनुदान दिइएको थियो भने यो बर्ष प्रतिलिटर २ रुपैंया अनुदान उपलब्ध गराउन १६ करोड रुपैंया बजेट छुट्याइएको छ ।
नेपाल सरकारको गएको बर्षको तथ्यांक अनुसार नेपालमा दुधालु गाई १० लाख ७८ हजार ७ सय ७५ र दुधालु भैंसी १५ लाख ६० हजार ५ सय ८४ छन् । जसमध्य बागमती प्रदेशमा दुधालु गाई १ लाख ५८ हजार ६ सय १० र दुधालु भैंसी २ लाख ६६ हजार ४ सय ९४ छन् । बागमती प्रदेशमा गाईको दुध १ लाख २८ हजार ३ सय ८० मेट्रिक टन र भैंसीको दुध २ लाख ६९ हजार ५ सय ९४ मेट्रिक टन गरि जम्मा ३ लाख ९७ हजार ९ सय ७४ मेट्रिक टन दुध उत्पादन भएको छ ।
दुध मानवीय स्वास्थ्यका लागि अतिनै महत्वपुर्ण पदार्थ भएको हुँदा बागमती प्रदेश सरकारले दुध उत्पादनलाई बिशेष महत्व दिएको हो । भर्खरै जन्मेको शिशुका लागि ६ महिनासम्मको आहारा भनेकै दुध मात्र हो । उमेर बढ्दै गएपछि बच्चालाई चाहिने दुध गाई भैंसीको दुधबाट पूर्ति गरिन्छ । दुधमा शरिर वृद्धिविकासका लागि चाहिने प्रोटिन, कार्बोहाइड्रेट, फ्याट र मिनरल्स पाइन्छ । त्यसैले नियमित रुपमा दुध पिउने मानिस स्वस्थ र निरोगि हुन्छन् ।
दुधमा हाम्रो शरिरले सजिलोसँग पचाउन सकिने केजिन प्रोटिन पाइन्छ । यो प्रोटिनले हाम्रो शरिरको कोष बृद्धिविकास गर्न, रोगसँग लड्ने क्षमता बढाउन उपयोगि हुन्छ । दुधमा पाइने क्याल्सीयम र फस्फोरसले हड्डीको बृद्धिविकासमा सहयोग पु¥याउँछ । आइरनले हेमोग्लोविनको अर्थात शरिरको विभिन्न भागमा अक्सिजन पु¥याउने काम गर्छ । सोडियम पोटासियमले पानीको मात्रा मिलाउने काम गर्छ । त्यस्तै प्रत्येक कोषका लागि चाहिने लवणहरु पाइन्छ । त्यसैले दुध मानवीय स्वास्थ्यको लागि अत्यन्त उपयोगी पदार्थ हो । दुध पिऔं, स्वस्थ रहौं ।