पल शाहलाई थुनामै राख्न उच्च अदालत पोखराको आदेश

जनपत्र
२० जेष्ठ २०७९, शुक्रबार ०७:४६

एक नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोग लागेका अभिनेता तथा मोडल पल शाहलाई थुनामै राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन उच्च अदालत पोखराले आदेश जारी गरेको छ । बिहीवार साँझ उच्च अदालतका न्यायाधीशद्वय उज्ज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालत तनहुँ र पूर्वी नवलपरासी अदालतको आदेशलाई सदर गरेको हो ।
गत चैत १० गते तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले अभिनेता शाहलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो । त्यसको केही दिनपछि पूर्वी नवलपरासी जिल्ला अदालतले पनि पललाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको थियो । दुवै जिल्ला अदालतको आदेशविरुद्ध पलका वकिलले उच्च अदालत पोखरामा पुनरावेदन चढाएका थिए ।
बिहीवार उच्च अदालत पोखरामा पल शाहको तर्फबाट कमलामोहन वाग्ले, भानुभक्त सुवेदी, माधव घिमिरे, जगदीश पाण्डे र मिलनध्वज शाहीले बहस गरेका थिए भने जाहेरीकर्ताको तर्फबाट सरकारी वकिल ईश्वरीप्रसाद ढकालले बहस गरेका थिए । शाहविरुद्ध जाहेरी दिने नाबालिग र उनका पिताले तनहुँ र नवलपरासीको अदालतमा बकपत्र गर्ने क्रममा बयान फेरिसकेका छन् ।
नाबालिगका बाबुले पलविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा गत फागुन ११ मा किटानी जाहेरी दिएका थिए भने फागुन १५ गते नवलपरासी प्रहरीमा पनि जबर्जस्ती करणीको अभियोगमा मुद्धा दर्ता गरेका थिए । यही दिन शाहले तनुहँ प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । तनहुँले २१ दिन र नवलपरासी प्रहरीले ७ दिन हिरासतमा राखेर शाहमाथि अनुसन्धान गरेको थियो ।
दुवै जिल्लाका प्रहरी कार्यालयले अनुसन्धान सकाएर सरकारी वकिलको कार्यालयमा मिसिल बुझाएपछि तनहुँ र नवलपरासी दुवै अदालतमा मुद्धा दर्ता भएको थियो । शाहविरुद्ध दुवै जिल्लाको सरकारी वकिलको कार्यालयले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को ९३० को ९ग० अनुसार १२ देखि १४ वर्ष सजाय र चार लाखसम्म जरिवानाको माग दाबी गर्दै मुद्धा दर्ता गरेको थियो ।
तनहुँ र नवलपरासीको प्रहरी कार्यालयमा नाबालिगका बुबाले दिएको जाहेरीमा पल शाहले विभिन्न ठाउँमा पटक(पटक छोरीलाई जबर्जस्ती करणी गरेको उल्लेख छ । तर, पछि दुवै अदालतमा बकपत्र गर्ने क्रममा नाबालिगले आफूलाई शाहले जबर्जस्ती करणी नगरेको भन्दै बयान फेरेकी थिइन् । उनका बुबाले पनि ‘बुझ्दै जाँदा त्यस्तो केही नभएको रैछ’ भन्दै आफ्नो बयान फेरेका छन् । फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*